
इङ्ल्यान्डका प्रभावशाली खेलाडी मार्कस रासफोर्डले स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा आबद्ध भएका छन् । २७ वर्षीय फरवार्ड रासफोर्ड एक वर्षका लागि ऋणमा बार्सिलोनामा आबद्ध भएका हुन् ।
बार्सिलोनामा आवद्ध भएपछि उनले आफूलाई घर फर्किएको अनुभव भएको टिप्पणी गरे । अन्तत: उनी बार्सिलोनामा आबद्ध हुनु पगे । ‘म निकै उत्साही छु । यो त्यही क्लब हो, जहाँ विश्वका चर्चित खेलाडीहरू आबद्ध हुन चाहन्छन् । मेरो त्यो सपना पनि पूरा भएको छ । मलाई आफ्नो घर पुगेको अनुभव भइरहेको छ,’ रासफोर्डले भनेका छन् ।
रासफोर्ड इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट बार्सिलोना बसाइ सरेका हुन् । उनका लागि बार्सिलोनाले ठुलो रकम खर्चिएको समाचारमा जनाइएको छ । घरेलु लिग र कपको उपाधि जितेर बार्सिलोनामा आबद्ध हुने गेरी लिनेकरपछि उनी पहिलो खेलाडी हुन् ।
यसअघि, सन् १९८६ मा लिनेकर बार्सिलोनामा आबद्ध भएका थिए । गत डिसेम्बरयता रासफोर्डले म्यानचेस्टर युनाइटेडबाट खेलेका थिएनन् । म्यानचेस्टर युनाइटेड उनले आफ्नो किशोरावस्था बिताएको क्लब पनि हो ।
गत डिसेम्बरमा उनलाई प्रशिक्षक रुबेन एमोरिनले टोलीबाट हटाएका थिए । त्यसपछि म्यानचेस्टर युनाइटेडले सन् २०२४–२५ सिजनमा उनलाई ऋणमा इङ्लिस क्लब एस्टन भिल्लामा पठाएको थियो । त्यसयता रासफोर्डले म्यानचेस्टर युनाइटेड छाड्ने चर्चा चल्दै आएको थियो ।
सन् २०१५ मा म्यानचेस्टर युनाइटेडको सिनियर टोलीमा आबद्ध भएका उनले क्लबका लागि चार सय २६ खेल खेल्दै कुल एक सय ३८ गोल गरेका छन् । उनले क्लबलाई पाँचवटा ठूला प्रतियोगिताको उपाधि चुमाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।