१० असार २०८३, बुधबार

ठेकेदारले समयमै काम नसक्दा रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन

साउन १२, २०८२
काठमाडौं
ठेकेदारले समयमै काम नसक्दा रामेछापका मूल सडकमा गाडी गुडाउनै कठिन

निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा रामेछापका मुख्य सडक हिलाम्मे छन् । ग्रामीण कच्ची सडकको ठाउँठाउँमा भासिने र पहिरो गई गाडी चलाउनै नसकिने बनेका हुन् । 

जिल्ला पूर्वाधार कार्यालयमार्फत निर्माण भइरहेका मन्थली पकरबास–गोगनपानी–गाल्वा सडक, सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक र खिम्ती–रस्नालु–ठोसे सडकलगायतका जिल्लाका महत्वका सडक तथा पक्की पुल निर्माणमा ढिलासुस्ती भएको छ ।  

सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक गत असोजमा कालोपत्रे गर्नुपर्नेमा हालसम्म सम्पन्न भएको छैन । निर्माण व्यवसायीले समयमा काम नगरेपछि स्थानीयले जिल्ला पूर्वाधार विकासको कार्यालयमा ताला लगाएका थिए । 

निर्माण व्यवसायी र कार्यालयले तोकिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता पूरा नभएको मन्थली नगरपालिका-१ का स्थानीय पाण्डव सुवेदीले बताए । 

त्यसैगरी मन्थली-पकरबास-गोगनपानी–गाल्वा सडक अन्तर्गत पकरबास– गाल्पा सडक कालोपत्रे गर्ने अन्तिम म्याद गतवर्षको असार मसान्तसम्म थियो । म्याद सकिएको एक वर्ष बित्दा पनि कालोपत्रे नभएपछि ठाउँ ठाउँमा हिलो भएको छ ।

पकरवास-गोगनपानी-गाल्वा सडक १० किलोमिटर कालोपत्रे गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले ४३ करोड रुपैयाँ मा लिएको थियो । ७.५ किलोमिटरको गोगनपानी–धुलेबेसी–भोटनागी सडक निर्माणको जिम्मा १७ करोड रुपैयाँमा गरिमा रौताहा सगुन र पाँच पोखरी कन्सट्रक्सनले लिएको थियो । 

१८ महिनामा पुरा गर्ने गरी ठेक्का लागेको काम चार वर्षमा सम्पन्न नहुँदा पनि जिल्ला प्राविधिक कार्यालयले कुनै चासो नदेखाएको खाँडादेवी गाउँपालिका-४ का अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । 

सोही कार्यालयमार्फत निर्माण भइरहेको खिम्ति–रस्नालु–ठोसे सडक पनि अलपत्र छ। सो सडकमा जिल्लाको उत्तरी क्षेत्र जाने सवारी साधन घण्टौँसम्म हिलोमा फस्ने गरेका छन् । निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र त्यसको अनुगमन गर्ने पूर्वाधार विकास कार्यालय प्रमुखलाई गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले कारबाहीको माग गरेका छन् ।   

कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले भने निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई आफूले सचेत गराएको र पटक–पटक गराउँदा पनि नमानेमा ठेक्का सम्झौता तोडिने बताए। रासस

salt training

कमेन्ट गर्नुहोस्