१३ साउन २०८३, बुधबार
राजेश अहिराजविरुद्ध बलात्कार मुद्दा

जाहेरवाली युवतीको बयान- डेरामा आएर बलात्कार गरे, कसैलाई भने जीवन बर्बाद गरिदिने धम्की दिए

साउन १३, २०८२
काठमाडौं
जाहेरवाली युवतीको बयान- डेरामा आएर बलात्कार गरे, कसैलाई भने जीवन बर्बाद गरिदिने धम्की दिए

एक युवतीलाई बलात्कार गरेको अभियोगमा मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अहिराजविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दामा अभियोग दर्ता गरेको हो ।

२०८१ जेठ ४ गते आफू डेरामा बसिरहेका बेला अहिराजले कोही नभएको मौका छोपेर मुख थुनेर आफूलाई जबर्जस्ती करणी गरेको आरोप पीडित युवतीको छ । तर, त्यसलाई अहिराजले खण्डन गर्दै विदेश जाने भनेर युवतीले आफूसँग पटकपटक पैसा मागेको र उक्त रकम नदिएपछि आफूविरुद्ध षडयन्त्रको रूपमा जबर्जस्ती करणी मुद्दामा जाहेरी दिएको सरकारी वकिलसँगको बयानमा उल्लेख गरेका छन् । 

बयानमा अहिराजले २०८१ भदौ १८ गते युवतीले आफूलाई ह्वाट्सएपमा लक्ष्मी सनराइज बैंकको खाता पठाएको र २३ गते आफूले तीन लाख दिएपछि बैंकमा जम्मा गरेर स्लिप देखाई गाडीमा बसेर होस्टलमा गएको उल्लेख गरेका छन् । अहिराजले बयान दिए अनुसार उनीसँग युवती, उनकी आमा र भाइले पटकपटक पैसा दिन धम्की दिएका थिए । शुरूमा ६० लाखदेखि बार्गेनिङ गरेर अन्तिममा २० लाखसम्म दिए कतै उजुरबाजुर नगर्ने भनेर युवती र उनकी आमाले आफूलाई धम्की दिएको कुरा अहिराजले बयानमा खुलाएका छन् ।

तर, पीडित युवतीले भने आफूलाई बलात्कार गर्दा अहिराजले ‘नेपालमा पैसा र पावर हुनेकै कानून छ, तँ मधेशी परिवारको छोरी होस्, यो कुरा बाहिर आयो भने मधेशी समाजले बहिष्कार गर्छ, तँ र तेरो परिवार कहीँ कतै मुख देखाउन लायक हुनेछैन’ भन्दै धम्की दिएको बयानमा उल्लेख गरेकी छिन् । युवतीले आफ्नो अस्मिता लुटेर जिउँदो लास बनाउने अहिराजलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छन् ।

अहिराजले आफूमाथि पटकपटक पैसाको बार्गेनिङ गरेपछि २०८१ मंसिर ७ मा जिल्ला प्रहरी परिसर काठमाडौंमा आपराधिक लाभ (एक्सटर्सन) को जाहेरी दर्ता गराएको तर, त्यसमा प्रहरीले कुनै कारबाही अघि नबढाएको कुरा बयानमा उल्लेख गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्