
काठमाडौं, २४ मंसिर- आफ्नो जीत सुनिश्चित भएको दाबी गर्दै चुनावको मुखमा कैलालीमा घर किनेकी प्रधानमन्त्री पत्नी नेपाली काँग्रेसकी उम्मेद्वार आरजु राणा देउवासँगको मत अन्तर वाम गठवन्धनका उम्मेदवारले बढाएका छन् ।
कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेद्वारी दिएकी राणा ३ हजारभन्दा बढी मतान्तरले पछि परेकी छिन् । मतगणनाको शुरुवातदेखि नै निकै अगाडी रहेका वामगठबन्धन तर्फबाट नेकपा एमालेका उम्मेद्वार नारदमुनी रानाले मतगणना सम्पन्न हुने बेलासम्म आइपुग्दा मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार अहिले आरजु ३ हजार ३ सय ६६ मतले पछि परेकी छिन् । नारदमुनिको २३ हजार ३० मत पाएका छन् भने आरजुको पक्षमा १९ हजार ६ सय ७६ मत आएको छ ।
कैलाली ५ को प्रतिनिधिसभामा कूल ६१ हजार ९ सय ३४ मत खसेको थियो । अहिलेसम्म ५१ हजार ९ सय ५० मत गणना हुँदा २ हजार ४ सय ६२ मत बदर भएको खबर छ ।
सोही स्थानबाट चुनावी मैदानमा रहेका राजपा नेपालका लक्ष्मण थारूले अहिलेसम्म ६ हजार ३० मत पाएका छन् भने चौथो स्थामा रहेका साझा विवेकशीलका उम्मेद्वार दिनेशराज भण्डारीले २ हजार ४ सय ४ मत पाएका छन् ।