
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा र ईन्द्र बानियाँबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो दिनको मत विभाजनमा मुख्यमन्त्री एवं संसदीय दलका नेता लामाको पक्षमा १५ जना र बानियाँको पक्षमा २२ जना खुलेका थिए ।
यसैले आज अपरान्ह दलको नेता चयनका लागि निर्वाचन हुन लागेको हो । दलको नेताका लागि लामा र बानियाँले उम्मेदवारी दर्ता गरेका छन् ।
यस अघि २०७९ पुस १३ गते कांग्रेस संसदीय दलको चुनावमा लामाले २१ र बानियाँले १५ मत पाएका थिए ।
कांग्रेस एमाले गठबन्धन बनेपछि लामा मुख्यमन्त्री भएका थिए । उनी मुख्यमन्त्री हुँदा एक/एक वर्षको आलोपालोको सहमति भएको दाबी बानियाँ पक्षले गरेको छ । यसैले मुख्यमन्त्रीबाट राजीनामा दिन लामामाथि दबाब परेको थियो ।
पार्टी सभापति शेरबहादुर देउवाको आग्रहबीच लामा राजीनामा नदिने अडानमा पुगेका हुन् । उनले राजीनामा नदिएपछि अर्को पक्षका चार मन्त्रीले राजीनामा दिएका थिए ।
त्यसपछि मंगलबार सांसदबीच मत विभाजन भएको थियो । यस्तोमा लामाले १५ मत मात्रै पाए । अघिल्लोपटक ५ भोटले हारेका बानियाँले यसपटक ७ प्रदेशसभा सदस्य आफ्नो पक्षमा पारेका छन् ।
मुख्यमन्त्रीसँग असन्तुष्ट रहेका मध्ये आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र खानेपानीमन्त्री श्याम खड्काले राजीनामा दिएका हुन् । बानियाँको पक्षमा उभिन मन्त्रीहरूले राजीनामा दिएका थिए ।
बागमती प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन् । संसदीय दलको नेता चुनिन १९ मत प्राप्त गर्नुपर्ने हुन्छ । दलको नेतामा लामालाई हराएर बानियाँ मुख्यमन्त्री बन्ने तयारीमा छन् । तर लामाले संसदीय दलको नेता नभए पनि मुख्यमन्त्री बनिरहन सक्ने जिकिर गर्दै आएका छन् । तर दलको नेता नभएपछि लामालाई मुख्यमन्त्री छोड्न दबाब पर्नेछ । ११० सदस्य रहेको बागमतीको प्रदेशसभामा बहुमतको लागि ५६ सांसदको आवश्यकता पर्छ ।
बानियाँको पक्षमा रहेका २२ जना
कांग्रेस प्रदेश सभापतिसमेत रहेका ईन्द्रबहादुर बानियाँको पक्षमा शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विनु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, उर्मिला नेपाल केसी र शान्ता ढकाल छन् ।
त्यस्तै, प्रभात तामाङ, छिरिङ्गदोर्जे लामा, मीनकृष्ण महर्जन, विमल ठकुरी, मधुकुमार श्रेष्ठ, मीना पराजुली, याङ्किला शेर्पा (रुइत) सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्याम खड्का र कृष्णबहादुर तामाङ (समीर) पनि बानियाँको पक्षमा उभिएका हुन् ।
बहादुरसिंह लामाको पक्षमा रहेका १५ जना
मुख्यमन्त्री बहादुरसिंह लामाको पक्षमा कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेश महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, क्षेत्रबहादुर बम्जन, गीता गुरुङ, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी श्रेष्ठ छन् ।
लामाले आफ्नो पक्षमा रहेका तीन जनालाई मन्त्री बनाएका छन् । गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई उनले मन्त्री बनाएका हुन् । तर एमालेले असन्तुष्टि जनाएपछि उनीहरूको शपथ हुन सकेको छैन ।