
केही दिनदेखि काठमाडौंको माइतीघर मण्डलमा अनसनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनको वीर अस्पतालमा उपचार भइरहेको छ । मेयर भट्टराईलाई प्रेसर लो, सुगर लो र चक्कर आउनेजस्ता समस्या देखिएका बताइएको छ ।
बुधबार राति साढे ११ बजे भट्टराईलाई अस्पताल भर्ना गरिएको हो । विभिन्न ७ बुँदे माग राखेर उनले साउन ११ गतेदेखि माइतीघरमा ‘सत्याग्रह’ थालेका थिए ।
नगर प्रमुख भट्टराईले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएको, पटक-पटक लिखित तथा मौखिक अनुरोध गर्दा पनि संघीय सरकारले बेवास्ता गरेकाले सत्याग्रह शुरू गरिएको जनाएका छन् ।