
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बस्ने मकवानपुर मनहरी गाउँपालिका-५ घर भएका ३१ वर्षीय अशोक मोक्तान, काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने सल्यान कपुरकोट गाउँपालिका-३ घर भएका ३२ वर्षीय टेकबहादुर घर्ती मगर र भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ बस्ने तनहुँ व्यास नगरपालिका-४ घर भएका ४५ वर्षीय विमल आले रहेका छन् ।
पक्राउ परेकामध्ये अशोकले यूएई पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ११ लाख ४० हजार, टेकबहादुरले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८ हजार र विमलले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अशोकलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार तथा टेक बहादुरलाई टोखा नगरपालिका-७ बाट र विमललाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।