
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासन कायम भए मुलुकमा लोकतन्त्र बलियो हुने बताएका छन् ।
विराटनगर वरगाछीस्थित गुराँस पुस्तकालयद्वारा आज आयोजित मुक्तिप्रसाद–यदुनाथ चापागाईं सम्मान कार्यक्रममा उनले राजनीतिक दलका नेता इमान्दार भए सङ्घीय गणतन्त्रको सफल कार्यान्वयन हुनुका साथै लोकतन्त्र बलियो हुने बताए । पार्टीको आफ्नो विचार र सिद्धान्त बिर्सेमा लोकतन्त्र सङ्कटमा पर्ने भन्दै यसप्रति सचेत हुनुपर्नेमा उनले जोड दिए ।
अर्को प्रसङ्गमा उनले वर्तमान सरकार परिवर्तन गर्नुपर्ने आफ्नो सोच नरहेको तर सरकारले पारदर्शी र जवाफदेही भएर काम गर्नुपर्ने बताए । उनले भने, ‘वर्तमान गठबन्धन सरकारप्रति नेपाली जनताको ठूलो आशा र भरोसा रहेकाले नागरिकको जीवनस्तर वृद्धिको अनुभूति हुने खालको कार्य गर्नुपर्छ ।'
नेता डा. कोइरालाले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि यदुनाथ चापागाईंले खेलेको भूमिकाबारे चर्चा गर्दै सबैले त्यसको अनुसरण गर्नुपर्ने बताए ।