
नेपाल भ्रमणमा आउने पर्यटक काठमाडौँ उत्रिएको दिन र फर्किने दिन उपत्यकाको प्राचीन मौलिक कला र सांस्कृतिक सम्पदा हेरेर बिताउँछन् । फर्किनुअघि उनीहरू एक रात ठमेल, दरबारमार्गसहित काठमाडौँका रात्रि मनोरञ्जन ‘स्पट’ मा रमाइलो गर्छन् ।
बाह्य पर्यटक र आन्तरिक ग्राहकको भिड लाग्ने ठमेल, दरबारमार्ग, चाबहिलसहितका क्षेत्रमा दिनदिनै हुने झगडा र तनावपूर्ण घटनाले उपत्यकाको रात्रि मनोरञ्जन व्यवसाय बदनाम छ । यति मात्रै होइन, चौबिसै घण्टा खुला रहने ठमेल क्षेत्रमा हरेक दिनजसो क्लब, बार, दोहोरीसाँझ र होटेलमा हुने झैझगडाका कारण नेपालबारे गलत सन्देश पनि प्रवाहित भइरहेको छ ।
अन्तर्राष्ट्रियस्तरमै परिचित एवं पर्यटकको आकर्षक गन्तव्य भए पनि सरोकारवालाको लापर्बाहीपूर्ण र अराजक व्यवहारका कारण सुरक्षा निकायको टोलीकै अगाडि ग्राहक कुटिन्छन् । ग्राहकले बिल बढी भएको र छुटको विषय उठाउँदा क्लब र दोहोरीका ‘बाउन्सर’ बाट कुटपिट र दुव्र्यवहार हुन्छ । लछारपछार पार्दै ग्राहक बाहिर निकालिन्छन् । गस्तीको सुरक्षा टोली उल्टै ग्राहकलाई ‘मातेर हल्ला नगरी जाओ’ भन्दै थर्काउँछन् । ठमेल, दरबारमार्गदेखि चाबहिलसम्म पुग्दा यस्ता घटना सामान्य जस्तै लाग्छन् । गोरखापत्रमा खबर छ ।