सुर्खेत र बर्दियामा पर्ने बबई नदीमा पानीको सतह बढ्दै गएपछि डुबान पर्नसक्ने स्थानमा सशस्त्र प्रहरीको टोली परिचालन भएको छ ।
नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाका विभिन्न स्थान डुबान पर्नसक्ने भएकोले उद्धारका लागि सुरक्षाफौज परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमलव १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । जहाँ पानीको सतह ६ दशमलव ८० पुगेपछि खतरा मानिन्छ ।
डुबानमा पर्नसक्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र थापाको कमान्डमा विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षा फौज खटिएको छ ।
त्यस्तै, डुबानमा पर्नसक्ने क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामग्रीसहित तयारी हालतमा राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।