
काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत स्वास्थ्यलाई नकारात्मक असर गर्ने खाद्यवस्तु बिक्रीको अनुगमन गर्ने भएको छ ।
बर्खाको समयमा सहज रूपमा पानी उपलब्ध गर्न सकिने भएकाले पानीपुरी तथा चटपटेमा प्रदूषित पानी प्रयोग हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता खाद्यवस्तु बिक्रीलाई नियन्त्रण गर्न अनुगमन गर्न लागिएको हो ।
त्यस्ता खाद्यवस्तुमा जहाँको पानी पनि प्रयोग गर्न सकिने हुँदा प्रदूषित पानीले उपभोक्ताको स्वास्थ्यमा पानीजन्य रोगको सङ्क्रमण बढाउन सक्ने देखिएकाले कामपाले त्यसको नियमन गर्न लागेको जनाएको छ ।
कामपाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले खाद्यप्रविधि र खानेपानी ढल व्यवस्थापन विभागसँगको सहकार्यमा वर्षायामभरि यो अभियान सञ्चालन गरिने जानकारी दिए । वर्षायामभरि पानीपुरी तथा चटपटे बिक्री वितरणको नियमनका साथै पिउने पानीको गुणस्तर परीक्षणलाई तीव्रता दिइने उनले बताए ।
हैजा नियन्त्रणका लागि खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न ‘प्लास्टिक र्याप स्टिकर’ र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारीमा कामपा रहेको भुसालले उल्लेख गरे ।