
नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले जनतामा देखिएको निराशालाई भजाएर लोकप्रियतावादीले नेपालमा नयाँ खालको जेलेन्सकी (युक्रेनमा युद्ध निम्त्याउने शासक) जन्माउन खोजेको बताएका छन् । तर, १८ औं शताब्दीमा जस्तो २१ औं शताब्दीमा नेपोलियन बोनापार्ट जन्मिन सम्भव नरहेको उनले बताए ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले सांसद बाँस्कोटाले सरकारको कार्यशैलीको कमजोरी देखाएर नेपालमा जेलेन्सकी जन्मिन खोजेको बताएका हुन् । ‘दुई-चार महिना यता, सरकारको कार्यशैलीको समस्या, कामका देखिएको ढिलासुस्ती र त्यसको निराशाका आधारमा नयाँ भाष्य सृजना गर्न खोजिँदैछ । हामी रातो घोडामा सवार भइसक्यौं, अब पुरानाको काम छैन । ०६३ सालको स्थापना गरेको मूल्य पद्धतिको काम छैन भनेर केही चटकेले समाजलाई नचाउन खोज्दैछन्’, बाँस्कोटाले भने ।
लोकप्रियतावादीहरू नयाँ नाम र रंगमा आएको बाँस्कोटाले टिप्पणी गरे । ‘विभिन्न नाम र रंगमा आउनु भएको छ । कोही प्रतिगमनको मुद्दाको भारी बोक्नु भएको छ । कसैले आफूलाई नव हिरोको रूपमा ल्याउनु भएको छ । त्यसलाई आधार बनाएर लोकतान्त्रिक सिस्टममाथि प्रहार भइरहेको छ’, बाँस्कोटाले भने, ‘लोकप्रियतावाद हिटलर जन्मने आधार जसरी बनेको थियो, नेपोलियन र जेलेन्सकी कसरी आइरहेका छन्, पुराना दलले बुझ्नुपर्छ ।’
बाँस्कोटाले ०८४ सालमा देखाउँछौं भन्ने भूतले तर्साउन खोजेपनि उनीहरूको ‘खुट्टी’ जनताले देखिसकेको दाबी गरे । ‘सबैलाई एउटा परेको छ- ०८४ मा देखाउने, यो भूतले सबैलाई लखेटेको देखेको छु । जनताले तिनको खुट्टी देखेका छन्’ उनले भने ।
संसद्मा नियमित अवरोध गरिरहेको रास्वपाले आफूले उठाएको प्रश्नको तथ्य दिन नसकेको बाँस्कोटाले बताए । ‘केही दिनदेखि देखिएको छ, सर्लक्क आउनुहुन्छ- कहिले नाराबाजी, कहिले पलेँटी मार्नुहुन्छ, कहिले कक्षाकोठाको जस्तो होमवर्क गर्नुहुन्छ । हुँदा हुँदा २ मिनेट उभिएर एकोहोरो शंख फुक्नु हुन्छ, अनि लुरुलुरु मौन यात्राका मलामी जस्तो बाहिर निस्कनु हुन्छ । यस्तो अवस्था किन ?’, बाँस्कोटाले भने, ‘जे प्रश्न उठाएको त्यसको तथ्य छैन, जवाफ दिन तयार हुनुहुन्न । मेरा बारेमा प्रश्न उठ्न हुँदैन, म प्रश्नभन्दा माथि छु, विशेष ज्ञानयुक्त छु भन्ने भ्रम छ । यो १८ औं शताब्दीको कुरा होइन, लोकप्रियतावादको घोडा चढेर हिटलर र नेपोलियन जन्मन सम्भव छैन ।’