
नेकपा एमालेले पार्टीबाट निकालेपछि पुस १७ गते ‘मातृभूमि जागरण अभियान’ घोषणा गरेका भीम रावल त्यसयता गुमनाम जस्तै बनेका छन् । सात महिनाअघि उनले अभियान मात्रै घोषणा गरेका थिए । केही समयमा आधार निर्माण गरेर पार्टी घोषणा गर्ने उनको भनाइ थियो । अभियान घोषणाका क्रममा विभिन्न उद्देश्य अगाडि सारेका थिए ।
‘नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, स्वाभिमान र हित तथा नेपाली जनताको हक–हित, विकास र समृद्धिको पक्षमा व्यापक जनमत सिर्जना गर्ने अभियानको उद्देश्य छ,’ घोषणाको केही दिनपछि उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलको सिद्धान्त तथा विश्व शान्तिका मान्यतामा आधारित भई राष्ट्रिय हितलाई सर्वोपरि राखेर नेपालको स्वतन्त्र परराष्ट्र नीतिको महत्त्व जनसमुदायमा बोध गराउन पार्टी स्थापना गर्न लागेको हुँ ।’
घोषणाको सात महिना बिते पनि पार्टी निर्माण गर्ने गरी रावलले पर्याप्त तयारी गरिसकेका छैनन् । बरु भेटघाटलाई नै प्राथमिकतामा राखेका छन् । देशदेखि विदेशसम्म पुग्ने, समर्थकको भावना बुझ्ने काममै रावलको समय बितिरहेको छ ।
१७ गते अभियान घोषणा गरेपछि रावल पहिलोपटक गृहजिल्ला अछाम पुगे । माघ पहिलो सातादेखि एक महिनासम्म उनले भेला, बैठक र भेटघाटका कार्यक्रम राखे ।
आफ्ना समर्थकलाई एमालेमा पुग्नबाट रोक्ने प्रयासस्वरूप संगठित गर्ने प्रयास गरेका थिए । त्यस क्रममा रावलले आफ्नो प्रभाव रहेको सुदूरपश्चिमका पहाडी जिल्ला र कैलालीको धनगढीमा निरन्तर कार्यक्रम गरे । उनको मुख्य उद्देश्य एमालेका सदस्यलाई आफूतिर तान्नु थियो । फरक–फरक ठाउँ गरी उनले केही कार्यकर्ता पनि बटुले ।
माघभर सुदुरपश्चिममा बिताएपछि रावल काठमाडौं आए । केही दिनयता रावल प्रवासी नागरिकको मनस्थिति बुझ्न भारतका शहर छिरे ।
त्यहाँ प्रवासी नेपालीबीच कार्यक्रम, भेला र भेटघाट गरेर नेपाल फर्किए । त्यसपछि लुम्बिनीका बुटवल आसपासका क्षेत्र, नवलपरासी, बाँके, बर्दिया, कैलालीमा भेटघाट र भेलाका कार्यक्रम गरेको उनी बताउँछन् ।
‘मैले पहिले अभियान मात्रै घोषणा गरेको हुँ । जिल्ला, प्रवास र काठमाडौंमा भेटघाट तथा छलफल गरें । अभियान घोषणापछि सुदूर र मध्यपश्चिमका ६/७ वटा जिल्लामा भेटघाटको कार्यक्रम गरें । बाटो–घाटो अवरुद्ध भएकाले वर्षायाममा जिल्लाको भेटघाट राखेको छैन । तर, काठमाडौंमा भेटघाट, परामर्श र छलफल गरिरहेको छु । विभिन्न जिल्लाका व्यक्ति तथा बुद्धिजीवीसँग छलफल गरिरहेको छु,’ रावलले लोकान्तरसँग भने, ‘धेरैले मेरो अभियानप्रति सकारात्मक प्रतिक्रिया दिनुभएको छ । राष्ट्रिय राजनीतिमा भूमिका खेल्न सक्ने गरी शक्ति निर्माणका लागि जोडबल गरिरहेको छु । सुझाव पनि यस्तै आएका छन् । विकृति, विसंगित, भ्रष्टाचारको अन्त्य, सुशासनसहितका मुद्दालाई जोड दिएको छु । यसमा नागरिक तहको विश्वास छ । अब मनसुन सकिएपछि फेरि कार्यक्रम लिएर जिल्लातिर संगठन निर्माणमा दौडिन्छु ।’

सुदूरपश्चिममा एमालेलाई झण्डै दुई दशक रावलले बलियो रूपमा उपस्थित गराएका थिए । एमालेमै उनले झण्डै ५० वर्ष काम गरे । तर, अहिले मूलधारबाट बाहिर छन् । हार नमान्ने भनेर अभियान छेडेका रावल त्यसयता काठमाडौं–अछाम ओहोरदोहोर गर्दै आएका छन् । विभिन्न राजनीतिक परिस्थितिमा सामाजिक सञ्जालमार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् ।
यस क्रममा आफूलाई साथ दिन खोज्ने ठूलो पंक्ति तयार भएको उनको दाबी छ ।
‘तपाईंले नागरिकका विषय उठाउँदै भ्रष्टाचार नियन्त्रण, सुशासन र डेलिभरीका कुरा गरेको हामीलाई मनपर्यो, साथ दिन्छौं भन्ने संख्या ठूलो छ,’ रावलले भने, ‘एमाले छाडेर आउने केन्द्रीय स्तरका नेता मेरो अभियानमा छैनन् । तर, प्रदेश, जिल्ला र त्योभन्दा मुनिका धेरै नेता, कार्यकर्ता र शुभेच्छुकले साथ दिनुभएको छ ।’
अब पार्टी कहिले खोल्ने योजनामा छ भन्ने प्रश्नमा रावलले कूटनीतिक जवाफ दिए । ‘अहिले हामीले घोषणा मात्रै भनेका छौं । तर, राजनीतिक आधार निर्माण भएपछि पार्टी घोषणा गर्छु ।’
कहिले भनेर उनले समय खुलाएनन् । २०८४ को चुनावलाई लक्षित गर्दै पार्टी खोल्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा रावलले भने, ‘पार्टी खोल्न चुनाव त धेरै टाढा भयो । त्यहाँसम्म नपुग्ला ।’
एमालेले सदस्यबाटै निकालेपछि कुनै संवाद नभएको उनको भनाइ छ । तर, अरू पार्टीबाट भने प्रस्ताव आएको उनी बताउँछन् ।
‘एमालेसँग मेरो कुरा नै भएको छैन । अरू पार्टीबाट विभिन्न प्रस्ताव आएका छन् । तर, मैले कुनै वचन दिएको छैन,’ रावलले भने, ‘कुराकानीका क्रममा राष्ट्र र जनताको हितको कुरा नै उठाउने गरेको छु ।’
आफूलाई एमालेले सदस्यबाट निकाल्नुअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग संवाद भएको उनले खुलाए । ‘मलाई एमालेले सदस्यबाट निकाल्नुअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुरा भएको थियो । त्यसपछि उहाँसँग पनि मेरो कुनै संवाद छैन,’ रावलले भने ।
रावलको राजनीतिक यात्रा
दुई दशक हाराहारीको समय रावल सुदूरपश्चिममा एमालेको हर्ताकर्ता नै बने । सुदूरपश्चिममा एमालेलाई टिकाएको जस पनि रावलले नपाएका होइनन् । तर, आफूले वर्षौं राजनीति गरेको पार्टीसँग उनको सम्बन्ध सौहार्द भएन ।
विगतमा पार्टीलाई एउटा धार दिएर सुदूरपश्चिममा एमालेलाई स्थापित गराएको पुरस्कार पनि उनले पटक–पटक पाएका थिए ।
रावल चारपटक सांसद भएका छन् । उनी २०५१, २०६४ (समानुपातिक, २०७० र २०७४ मा सांसद भए । २०४८ र २०५६ भने पराजित भएका थिए ।
२०६६ सालमा माधव नेपालको सरकारमा अरू थुप्रै दाबेदारका बीच रावल गृहमन्त्री बनेका थिए । रावल नेपालको मात्रै नजरमा परेनन्, केपी ओलीले समेत उनलाई पदले पुरस्कृत गरेका थिए । आफू प्रधानमन्त्री हुँदा ओलीले २०७२ मा रावललाई उपप्रधान एवं रक्षा मन्त्री बनाएका थिए ।

२०७४ सालको चुनावअघि माओवादीसँग एकता गरेपछि ओलीलाई पनि विकल्प भयो । माओवादीसँग मिलेर चुनाव लड्दा सुदूरपश्चिममा एमालेले झन् ठूलो लहर ल्यायो, प्रभाव बढायो । तर, ओलीले रावललाई हावी हुन दिएनन् । माओवादीका लेखराज भट्ट हाबी हुन थाले । यता एमालेभित्रै पनि रावलबाहेक लेखराज, दामोदर भण्डारी र कर्ण थापा विकल्पमा थिए । यिनीहरू आफैंबीच पनि चरम शक्ति संघर्ष चल्दै आएको थियो ।
ओलीबाट लेखराज, कर्ण र दामोदारले माया पाए, तर रावल छायाँमा पर्न पुगे । अवसरबाट वञ्चित हुँदै गएपछि रावलको नेतृत्वसँग दूरी बढ्यो ।
आफूलाई खरो राष्ट्रवादी देखाउने, एमसीसीको विरोध गर्नेमै केन्द्रित हुन थाले । संसद् विघटनमा रावल खुलेरै ओलीविरुद्धको मोर्चामा लागे । तर, माधव नेपालले पार्टी फुटाउँदा साथ दिएनन् ।
दशौं महाधिवेशनमा ओलीको सर्वसम्मत अध्यक्ष बन्ने चाहनामा रावल तगारो बनिदिए । कुनै पनि हालतमा निर्वाचन हुनुपर्ने माग गर्दै उनले उम्मेदवारी अगाडि सारे । २०७८ मंसिर १४ गते आएको नतिजामा ओली १८३७ मत ल्याएर विजयी भए । रावलले २२३ मत मात्रै पाए । ओलीसँग फराकिलो मतान्तरले पराजित भएका रावलले नवौं महाधिवेशनमा ११४३ मतले उपाध्यक्ष जितेका थिए ।
महाधिवेशनपछि नेतृत्वसँग रावलको टसल बढ्दै गयो । २०७९ को चुनावमा त एमालेले रावललाई टिकट नै दिएन । जबकि अछामबाट रावललाई पार्टी कमिटीले एकलरूपमा उम्मेदवार सिफारिस गरेको थियो । सुदूरपश्चिममा प्रभाव जमाएका रावलविना एमाले निर्वाचनमा होमियो । संघमा १६ निर्वाचन क्षेत्रमा २ र प्रदेशमा ३२ मध्ये ३ वटामा मात्रै एमालेले जित्न सक्यो । धेरैले रावल चिढिँदा एमाले सुदूरपश्चिममा कमजोर बनेको तर्क गरे । तैपनि एमालेले रावललाई महत्त्व दिएन ।
पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा लिएको विरोध रावलले गरेका थिए । त्यसपछि अनुशासनविपरीत काम गरेको भन्दै गत पुस १० गते सचिवालय बैठकबाट रावललाई पार्टीबाटै निस्कासनको निर्णय भयो ।
छैन प्रभावशाली नेताको साथ
एमालेमै छँदा रावललाई झपट रावल, दयालबहादुर शाही, प्रकाश महरा, गोविन्द कुँवरहरूले साथ दिएका थिए । एमालेले कारबाही गर्न खोज्दा नेता कर्णबहादुर थापा समेत रावलको पक्षमा उभिएका थिए । तर, अहिले एमालेका कुनै पनि प्रभावशाली नेताले रावललाई साथ दिएका छैनन् । एमालेका जिल्ला स्तरका केही पूर्व पदाधिकारी र नेता मात्रै रावलको पक्षमा खुलेका छन् । उनी आफैंले पनि एमालेका केन्द्रीय स्तरका नेताको साथ आफूलाई नभएको स्वीकारेका छन् । यस्तोमा उनी हतारिएर पार्टी घोषणा गरिहाल्ने मानसिकतामा देखिएका छैनन् । अझै धेरै भेटघाट र छलफलको निष्कर्षपछि मात्रै निर्णय लिने पक्षमा छन् ।
एमाले नेता दयालबहादुर शाही अझै पनि भीम रावल आदरणीय नेता भए पनि निष्ठा र निरन्तरताले मात्रै राजनीतिमा टिक्न सकिने बताउँछन् ।
‘अप्ठ्यारोमा भर्रभराउँदो उमेर खर्चिएर केपी ओली, माधव नेपाल, झलनाथ खनाल, भीम रावलहरूले एमाले बचाए । खास राजनीति गर्ने उमेर २० देखि ४० सम्मको हो । यसैको योगदानमा थप केही वर्ष राजनीति गर्ने हो । तर, राजनीतिमा पेन्सन हुँदैन । ७० वर्ष हाराहारी हुँदा सबै नेताले सोच्नुपर्छ,’ शाही भन्छन्, ‘भीम रावल हाम्रो आदरणीय नेता हो । सुदूरपश्चिमको ४० प्रतिशत क्षेत्रीको मत होल्ड गर्नुहुन्छ । तर, राजनीतिमा टिक्न आफ्नै निष्ठा र निरन्तरता चाहिन्छ । आफैंले उत्पादन गरेको बिजुलीको नांगो तार समातेर आफैंलाई सकाउने बाटोमा माधव, झलनाथ र भीम रावलहरू नलागून् भन्नेमा हामी छौं ।’
पार्टी छाडेर जाने राधाकृष्ण मैनाली, सीपी मैनाली, वामदेव गौतम, झलनाथ खनाल कसैको पनि राम्रो नभएको भन्दै उनले रावलको हकमा पनि त्यस्तै हुने बताए ।