२५ जेठ २०८३, सोमबार
रास्वपाभित्र उकुसमुकुस

सह-महामन्त्रीको विषयले रास्वपामा झमेला, किन असन्तुष्ट बन्दैछन् एकपछि अर्को नेता ?

प्रवक्ता झा भन्छन्– ‘रविकै अनन्य पात्रको नाम सिफारिस हुँदा पार्टीले नमान्नु सकारात्मक’
साउन २५, २०८२
काठमाडौं
सह-महामन्त्रीको विषयले रास्वपामा झमेला, किन असन्तुष्ट बन्दैछन् एकपछि अर्को नेता ?

सभापति रवि लामिछानेका अनन्य मित्र नेता दीपक बोहरालाई सह-महामन्त्री बनाउन खोज्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा झमेला भएको छ । सचिवालयमा छलफल नभएको विषयलाई केन्द्रीय समितिको बैठकमा ल्याइएपछि नेताहरूले आपत्ति जनाएका हुन् । शुक्रबार यस्तो घटना भएपछि बोहरासम्बन्धी प्रस्तावलाई फिर्ता लिइएको छ ।

केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोहरालाई सह-महामन्त्री बनाउन महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्ताव राखेका थिए । तर, सुमना श्रेष्ठले राजीनामा दिएपछि रिक्त भएको उक्त पदमा पदपूर्तिको विषय विवादित पुग्यो ।

बुर्लाकोटीले बोहोराका नाम प्रस्ताव गरेलगत्तै केन्द्रीय सदस्यत्रय तोसिमा कार्की, हरि ढकाल र क्रान्ति शिखा धितालले विरोध जनाएका थिए । एजेन्डा नै नभएको विषय ल्याइएपछि शुरूमै केन्द्रीय सदस्य धितालले विरोध गरेकी थिइन् ।

‘हामी महाधिवेशनको निकट छौं । अर्कोतिर हामीले परम्परागत दलभन्दा फरक देखिने गरी आफूलाई वैकल्पिक शक्तिको रूपमा उतारिरहेका छौं,’ धितालले भनेकी थिइन्, ‘पद रिक्त हुँदा विधि, पद्धति र प्रक्रियाबाट जानुपर्छ । विधिलाई छोड्दा हामीमाथि झन् ठूलो प्रश्न उठ्छ ।’

धितालले लोकान्तरसँग कुरा गर्दै आफूहरूले विधि र पद्धतिको कुरा उठाएको बताइन् ।

‘मैले व्यक्ति बोहराको विषय उठाएको होइन, उहाँ आफैं पनि पदको लागि इच्छा गर्ने व्यक्ति होजस्तो लाग्दैन । उहाँले निर्बाध पार्टीलाई सहयोग गर्दै आउनुभएको छ । यसैले एउटा विधि र प्रक्रिया भएन भन्ने कुरा उठाएको हुँ,’ धितालले भनिन्, ‘अर्कोतिर, यो विषय एजेन्डामा थिएन । सह-महामन्त्रीका लागि को जाने भनेपछि बल्ल व्यक्तिको विषयमा जानुपर्ने, तर व्यक्तिको विषयमा छनोटको विकल्प भएन । त्यसैले विरोधको स्थिति बन्यो ।’

महाधिवेशनको मुखमा एकजना सह-महामन्त्रीले पार्टी चलाउन सक्ने उनको भनाइ छ ।

‘मेरो खास कुरा त विपिन आचार्य सह-महामन्त्री हुनुहुन्छ । एकजना भए काम गर्न सकिन्छ । महाधिवेशनबाट नेतृत्व आइहाल्छ भन्ने हो,’ धितालले भनिन्, ‘होइन, पार्टीलाई आवश्यकता छ भने विधान संशोधन गर्नका लागि कुनै पद थप्ने विषय मात्रै एजेन्डा बनाउने, अरूलाई अलपत्र छाड्ने कुरा उचित हुँदैन । यसमा हरि ढकाल र तोसिमा कार्की पनि प्रस्ट रूपमा उभिनुभएको छ ।’

‘रवि लामिछानेका अनन्य पात्रको विषयमा आएको सिफारिस पनि केन्द्रीय समितिले फर्काउँदो रहेछ भन्ने देखायो । सचिवालयले गरेको सिफारिस केन्द्रीय समितिले मान्दैन, मानेन,’ झाले भने ।

सांसद समेत रहेका ढकालले वैकल्पिक राजनीतिको विषय उठाउने रास्वपालाई तदर्थवादमा चल्ने छुट नभएको बताएका थिए । ‘हामी विधि–विधि भनेर स्थापित भएको पार्टी हौं । यसैले हरेक नियुक्ति तथा गतिविधिमा विधि र प्रक्रियालाई छल्न हुँदैन भन्ने नै हो,’ ढकालले बैठकमा भनेका थिए, ‘यसैले वैकल्पिक शक्ति परम्परागत शक्तिभन्दा अलग देखिनुपर्छ । हामी हाम्रै लयमा अगाडि बढ्नुपर्छ । पारदर्शी बन्नुपर्छ । अरूलाई पनि अवसर दिनुपर्छ ।’

रास्वपाको कोषाध्यक्ष लीमा अधिकारी छिन् । सह–कोषाध्यक्षमा वसुमाया तामाङ र दीपक बोहोरा थिए । तर, औपचारिक रूपमा सह–कोषाध्यक्षबाट नहटाई बोहरालाई सह-महामन्त्री बनाउन खोजिएको रास्वपा स्रोत बताउँछ ।

एकजना मात्रै कायम राख्ने भन्दै वसुमाया तामाङलाई मात्रै सह-कोषाध्यक्ष बनाइएको दाबी रास्वपाको छ । तर, पार्टीभित्र विवाद भएपछि मात्रै वेबसाइटबाट बोहराको नाम हटाएर अहिले सचिवालय सदस्य मात्रै बनाइएको छ । रास्वपाका प्रवक्ता मनिष झाले बोहरालाई हटाइएको जानकारी निर्वाचन आयोगमा अद्यावधिक गरिसकिएको जानकारी दिए ।

बोहरा सभापति लामिछानेका विश्वासपात्र नेता हुन् । त्यसैले रविको समेत जोडबलमा बोहरालाई सह-महामन्त्री बनाउन प्रस्ताव ल्याइएको थियो । तर, विरोध भयो । यतिमात्रै होइन, सचिवालयले सह-महामन्त्रीको एजेन्डामा छलफल गरेको थिएन । केन्द्रीय समितिको एजेन्डामा पनि परेको थिएन । यसअघि सुमना श्रेष्ठले राजीनामा दिएको पदमा महिला नै हुनुपर्ने कतिपयको माग छ । भोलिपल्ट फेसबूकमा लामो स्टाटस लेख्दै तोसिमा कार्कीले एजेन्डामा नै नभएको विषय ल्याइएपछि विरोध गर्नुपरेको प्रस्ट्याएकी छिन् ।

‘केन्द्रीय समितिमा मैले विधिको प्रश्न उठाएको हुँ, व्यक्तिको विरोध गरेको होइन । साथै, रिक्त सह-महामन्त्रीमा मेरो दाबी होइन । हिजोको केन्द्रीय समिति बैठकमा एजेन्डामै नभएको कुरा प्रस्ताव आएपछि हामीले अस्वीकार गरेका हौं,’ कार्कीले भनेकी छिन्, ‘पार्टीले रिक्त रहेको सह-महामन्त्रीको पदमा थप गृहकार्यसहित विधिसम्मत रूपले इच्छुक–योग्य महिलाहरूबाट नियुक्त गर्नुपर्छ भन्ने मेरो मत हो ।’

केन्द्रीय समिति बैठकमा भएको छलफलको नालीबेली सबै बाहिर आउन जरुरी नभएको उनको भनाइ छ । पार्टी विधिपूर्वक चल्न र पार्टीभित्रको लोकतान्त्रिक पद्धति बलियो बनाउन आवश्यक भएको उनले बताएकी छन् ।

null

पार्टीमा अप्रत्याशित रूपमा ल्याइएको एजेन्डाको विरोध भएपछि विवादलाई सचिवालयमै पठाइएको छ । रास्वपाका प्रवक्ता मनिष झा सचिवालयले अगाडि बढाएको प्रस्तावलाई केन्द्रीय समितिले फिर्ता गर्नुलाई सकारात्मक कोणबाट हेर्नुपर्ने बताउँछन् ।

‘रवि लामिछानेका अनन्य पात्रको विषयमा आएको सिफारिस पनि केन्द्रीय समितिले फर्काउँदो रहेछ भन्ने देखायो । सचिवालयले गरेको सिफारिस केन्द्रीय समितिले मान्दैन, मानेन,’ झाले भने, ‘नियुक्ति यसरी हुँदैन । मापदण्ड हुनुपर्छ, यसैले विधि बनाएर नियुक्त गर्नुस् । केन्द्रीय समितिको एजेन्डामा राख्नुस् भनेको त सकारात्मक कुरा हो । सकारात्मक रूपमा हेर्ने हो भने रवि लामिछाने वा उहाँको सचिवालयले जे चाहन्छ, त्यही हुन्छ भनेर हुँदैन भन्ने सन्देश हामीले केन्द्रीय समिति बैठकबाट दिएका छौं ।’

बैठकमा कार्की, धिताल र ढकालले उठाएको कुराले पार्टी जीवन्त बन्ने झा बताउँछन् ।

‘यो एजेन्डा केन्द्रीय समितिबाट सचिवालयमा फर्किएको छ । सचिवालयले मापदण्ड बनाएर मात्रै प्रक्रिया अगाडि बढाउँछ । तोसिमा र क्रान्तिशिखाले उठाएको विषयले पार्टीलाई जीवन्त बनाउँछ, निखार्छ । मन्थन भएपछि हामी थप डेमोक्रेटिक छौं भन्ने सन्देश प्रवाह गर्छ,’ झाले भने, ‘कतिपयको महाधिवेशनको मुखमा पदाधिकारी चयन नगरौं, निर्वाचित नै गरौं भन्ने प्रस्ताव पनि आएको छ । छानेर होइन, मापदण्ड बनाऊँ भन्ने मत अरूको पनि छ । कार्यविधि र मापदण्ड बनाउनुपर्छ । अरूको पनि इच्छा हुन सक्छ । निष्पक्ष र पारदर्शी बनाऊँ भन्ने राम्रो कुरा हो ।’

आफूहरूले प्रस्ट आवाज उठाएपछि पार्टीले यो विषयलाई सच्याउने गरी सचिवालयमै फिर्ता गरेको भन्दै कार्कीले खुशी व्यक्त गरेकी छिन् । ‘केन्द्रीय समितिमा एजेन्डा अनुरूप राखिने प्रस्ताव र निर्णयको विधि सच्याउन आग्रह गरेको हो । र, राम्रो कुरा, यसलाई पार्टी सचिवालय र पदाधिकारीहरूले सकारात्मक रूपमा लिनुभयो,’ उनले लेखेकी छिन्, ‘एजेन्डा फिर्ता गरी थप गृहकार्य साथ आउने निर्णय भएको छ । यसकारण पनि मैले गर्वका साथ भन्ने गरेको छु, राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक लोकतन्त्र र विधिमा विश्वास गर्ने पार्टी हो ।’

सन्तुष्ट छैनन् सुमना

यसअघि सुमनाको राजीनामा पनि त्यत्तिकै आएको थिएन । गत वैशाख ४ गते उनले राजीनामा दिएकी थिइन् । दोहोरो पदका कारण भनेर राजीनामा दिएको दाबी गरिएको थियो । तर, नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदा श्रेष्ठ पनि घेराबन्दीमा परेकी थिइन् ।

सहकारी ठगी प्रकरणमा बाहिर बसेर मुद्दा लड्न पाउने भएपछि रविले सहभागिता जनाएको बैठकमै श्रेष्ठले २०८१ चैत १७ गते राजीनामा दिएकी थिइन् । पदाधिकारीमा आफूलाई बेवास्ता गरिएपछि राजीनामा दिएको सुमनाको भनाइ थियो ।

‘पदाधिकारी भएर समेत पार्टीसम्बन्धी महत्त्वपूर्ण विषय तथा निर्णय आधिकारिक स्रोतबाट नभई अरूबाटै थाहा पाउनुपर्ने स्थिति भएकाले पद लिएर पनि कुनै वजन नभएको महसुस गरेँ’, उनले लेखेकी थिइन्, ‘कैयौंपटक विभिन्न विषयमा बैठक बसौं भन्दा समेत वास्ता नगरेको, संसदीय दलमा विद्यार्थीको विषयलाई लिएर सदन अवरुद्ध गरौं भन्दा पनि नसुनिने समेत अवस्था आएको देखें । यस्तो महत्त्वपूर्ण पदलाई हलुका रूपमा नलिनुहोला ।’

सभापति लामिछानेमाथि सहकारी ठगीको मुद्दा लागेपछि रास्वपामा को हावी हुने भन्ने लडाईं छ । कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेबीच शक्ति संघर्ष चलिरहेको छ ।

जिल्ला अदालत कास्कीबाट रवि २५ पुस २०८१ मा रिहा भएका थिए । केही समय चुपचाप बसेर उनी पछि पार्टीको राजनीतिमा फर्किएका थिए । त्यसको तीन दिनपछि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई थुनामै पठाउन आदेश दियो । त्यसपछि सुमनाले आफ्नो राजीनामालाई होल्ड गर्न कार्यवाहक सभापति डिपी अर्यालसँग आग्रह गरेकी थिइन् ।

तर, केन्द्रीय सभापतिलाई पुन: पक्रिएकै समयमा उनको राजीनामालाई पार्टीले बाहिर ल्याइदियो । सभापति पुन: पक्राउ परेपछि पार्टीले नियोजित रूपमा आफ्नो राजीनामा बाहिर ल्याएको सुमनको गुनासो रहँदै आएको छ । अरू सभापतिको बचाउमा उत्रिँदा आफूलाई गलत देखाउन राजीनामाको विषय बाहिर ल्याइएको उनले बताएकी थिइन् ।

केही समय होल्ड गरे पनि गत जेठ ११ गते सुमनाको राजीनामा स्वीकृत गरिएको थियो । रास्वपाभित्र सुमनालाई बालेनले खोल्ने पार्टीमा प्रवेश गर्न लागेको भन्दै विवादमा पार्न खोजिएको छ ।

छोटो समयमै एकपछि अर्को विवाद

स्थापना भएको ६ महिनामै २० सीट जितेर रास्वपाले परम्परागत दलमाथि चुनौती खडा गरेको थियो । पार्टी स्थापनाको छोटो समयमै रास्वपा एकपछि अर्को विवादमा तानियो ।

सभापति विवादमा तानिए । महामन्त्री डा. मुकुल ढकालको विषयले पनि विवाद थप्यो । सांसद बन्न पैसा लेनदेन गरेको अडियो नै सार्वजनिक भएपछि ढाकाकुमार श्रेष्ठको सांसद पद गयो । उपसभामुख हुँदा अनधिकृत रूपमा केही युवालाई अमेरिका पठाउन लेटरहेड दुरुपयोग गरेको आरोप इन्दिरा रानाले खेपिन् ।

सभापति रवि लामिछाने शुरूमै नागरिकतामा दोषी देखिए । उनको सांसद पद नै गयो । पुन: चितवनबाटै निर्वाचित भए । ग्यालेक्सी टीभी चलाउँदा सहकारी ठगी गरेको प्रकरणमा रविविरुद्ध पाँचवटा जिल्ला अदालतमा मुद्दा चलेको छ ।

यसअघि उनका विश्वासपात्र नेता डा. मुकुल ढकालले सभापतिमाथि गम्भीर आरोप लगाएका थिए । आरोपकै कारण रास्वपाले ढकाललाई महामन्त्रीबाट हटायो । तर, पनि रास्वपामा यस्ता विवाद आउने क्रम जारी नै छ ।

को हावी हुने भन्ने लडाईं

सभापति लामिछानेमाथि सहकारी ठगीको मुद्दा लागेपछि रास्वपामा को हावी हुने भन्ने लडाईं छ । कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेबीच शक्ति संघर्ष उत्पन्न भएको छ । यी दुईबीच को हावी हुने भन्ने लडाईं चलिरहेको बताइन्छ । पार्टीभित्र लोकतान्त्रीकरणको बहस पनि को हाबी हुने भन्ने लडाइँकै ‘साइड इफेक्ट’ भएको नेताहरू बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्