११ साउन २०८३, सोमबार

एभरेष्ट महिला भलिबल लिग : काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा बुढा

साउन २६, २०८२
काठमाडौं
एभरेष्ट महिला भलिबल लिग : काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा बुढा

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा सहभागी फ्रेन्चाइज टोलीमध्येको एक काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोकेबहादुर बुढा नियुक्त भएका छन् । 

खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोकबहादुर पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् ।

यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा जगदिश भट्ट थिए । क्लबले आगामी सिजनका लागि लोकबहादुरलाई नयाँ मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको हो ।

लोकबहादुरले त्रिभुवन आर्मी क्लबबाट खेलाडीको रूपमा खेलेका थिए । हाल उनी सोही क्लबमा प्रशिक्षकको भूमिकामा छन् । उनले राष्ट्रिय टोलीको कोचिङ स्टाफको रूपमा रहेर पनि काम गरिसकेका छन् ।

लोकबहादुरको प्रशिक्षण अनुभवले काठमाडौं स्पाइकर्सले राम्रो नतिजा हात पार्ने विश्वास क्लबले व्यक्त गरेको छ ।  ‘भलिबलप्रतिको उनको समर्पण, अनुभव र अनुशासनका कारण उनले फ्रेन्चाइज टिममा जिम्मेवारी पाएका हुन्,’ क्लबले भनेको छ ।

‘काठमाडौं स्पाइकर्सलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षकको रूपमा पहिलेदेखि काम गरिरहेको छु । राष्ट्रिय टिमको कोचिङ स्टाफ र विभागीय टिममा पनि प्रशिक्षक भएर काम गरिसकेको छु । अक्सनबाट खेलाडी अनुबन्ध भइसकेका छन् । छिटै विदेशी खेलाडीहरू पनि अनुबन्धित हुनेछन्,’ लोकबहादुरले भनेका छन् ।

नेपाली राष्ट्रिय महिला टोलीकी मुख्य स्पाइकर उषा भण्डारी मार्की प्लेयर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री र भुवनेश्वरी चन्द छन् । 

यसअघि अक्सनबाट कविता भट्टलाई अनुबन्ध गरिए पनि उनी अस्ट्रेलिया गएपछि उनको स्थानमा भुवनेश्वरीलाई राखिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्