
काठमाडौं, २४ मंसिर — दंगल र सिक्रेट सुपरस्टारमा राम्रो अभिनय गरेर चर्चा कमाएकी जायरा वसीममाथि विस्तारा एयरलाइन्समा दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । उनलाई मुम्बई प्रहरीले आइतवार साँझ पक्राउ गरेको छ ।
उनको नाम विकास सचदेव हो र उनी ३९ वर्षका छन् ।
जायराले आफूमाथि भएको दुर्व्यवहारको बारेमा इन्स्टाग्राम अकाउन्टमा भिडियो शेयर गरेर बताएकी थिइन् ।
प्रहरीका डेपुटी कमिस्नर अनिल कुम्भारेले विकासलाई सोमवार अदालतसमक्ष पेश गरिने बताए ।
उनका विरुद्ध महिलामाथि आपराधिक आक्रमण र बालबालिकालाई यौन दुर्व्यवहार कसूरबाट सुरक्षा सम्बन्धी धारा अन्तर्गत मुद्दा दर्ता गरिनेछ ।
विस्तारा एयरलाइन्सले यस घटनामा जायरासँग माफी मागेको छ । उसले अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने बताएको छ ।
सचदेवले जायरालाई उडानका बेलामा कम्मर र गर्दनमा घरिघरि छोएको आरोप जायराले लगाएकी थिइन् । विमानबाट ओर्लेपछि उनले रुँदै इन्स्टाग्राममा लाइभ भिडियोमार्फत आफूमाथिको दुर्व्यवहारका बारेमा बताएकी थिइन् ।
एजेन्सी