
बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा आज साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–१ बर्कुका २७ वर्षीय पदमबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।
उनका अनुसार सोही गाउँपालिकाको जोरु लेकबाट पिलुचौरका लागि स्याउ लिएर आउने क्रममा पिलुचौर साप्पाटा सडकको बर्कुबाट ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो ।
सोही गाउँपालिका–४ बस्ने २४ वर्षीय रविन्द्र नाथले चलाएको भे ००१ त ०४८१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी बुढाको मृत्यु भएको छ भने ३५ वर्षीय लोकेन्द्र रोकाया घाइते भएका छन् । घाइते रोकायाको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
दुर्घटनामा परी घाइते भएका रोकायाको टाउको र ढाडमा चोट लागेको छ । चालक र सहचालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्र्याक्टर सडकबाट करिब ३५० मिटर तल खसेको छ ।