२४ जेठ २०८३, आइतबार

मौलिक हकको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ- प्रधानमन्त्री ओली

भदौ ३, २०८२
काठमाडौं
मौलिक हकको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत छ- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन् । 

राष्ट्रिय सूचना आयोगद्वारा मंगलबार आयोजित १९ औं राष्ट्रिय सूचना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकले आवश्यक पाउनुपर्ने तर कानूनले गोप्य राख्नुपर्ने वा सरोकार नै नभएका विषयमा सूचना थुपार्नका लागि माग्ने अभ्यासको अर्थ आफूले नबुझेको टिप्पणी गरे । 

‘हामीले लामो संघर्ष गरेर लोकतन्त्र ल्याएको हो । स्वतन्त्रता र सूचनाको हक जस्ता हकका लागि म आफैं जेलनेल लडेर आएको हो । संविधानमा हामीले जानी बुझीकन मौलिक हकहरूको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गर्नुपर्छ भन्नेमा अहिलेको सरकार स्पष्ट  छ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी सबै फराकिलो, स्वतन्त्र र अनुशासित समाज चाहान्छौं । परिपूर्ण लोकतन्त्र हाम्रो माध्यम हो, जसभित्र सूचनाको हकसहित सबै हक समावेश गरिएको हुन्छ ।’

व्यक्तिका गोपनीयता र अनुसन्धानका क्रममा रहेका विषयमा पनि सूचना पाउनुपर्छ भनेर ढिपी गर्नेहरू रहेका प्रधानमन्त्रीले टिप्पणी गरे । समाज र राज्यमा कतिपय विषय गोप्य नरहने भन्ने नहुने उनले बताए । 

‘हामीले शपथ ग्रहण गर्दा आवश्यक काम पर्दाबाहेक प्रकट वा व्यक्त गर्ने छैन भन्ने शपथ लिएका हुन्छौं । त्यसकारण हामी सबै आफ्नो अनुशासन र मर्यादामा रहँदै मौलिक हकको कार्यान्वयनमा लाग्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्री ओलीले सरकार र सूचना आयोगबीच कुनै अधिकारको लडाइँ र तानातान नरहेको बताउँदै मौलिक हकको कार्यान्वयनका क्रममा देखिएका समस्यालाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

उनले सामाजिक सञ्जाललाई दर्ता र करको नियमनमा ल्याउने  र समाजलाई व्यवस्थित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको पनि बताए ।
कार्यक्रममा सूचनाको हकका अभियन्ता, उत्कृष्ठ सूचना अधिकारी, पत्रकार, कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्