०६ असार २०८३, शनिबार

भारतको नान्देडमा बाढीले ८ जनाको मृत्यु, मुम्बईमा ३०० मिलिमिटर वर्षा

भदौ ३, २०८२
काठमाडौं
भारतको नान्देडमा बाढीले ८ जनाको मृत्यु, मुम्बईमा ३०० मिलिमिटर वर्षा

भारतको महाराष्ट्रमा लगातार दोस्रो दिन मंगलबार अविरल वर्षा हुँदा नान्देड जिल्लामा बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ । त्यस्तै, मुम्बईमा करिब ३०० मिलिमिटर पानी परेर यस वर्षको रेकर्ड वर्षा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

भारत मौसम विज्ञान विभागले मंगलबार मुम्बईसहित कोकण र मध्य महाराष्ट्रका घाँटी क्षेत्रका लागि बुधबारसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान गर्दै रातो चेतावनी जारी गरेको छ । मुम्बई, ठाणे, रायगड, रत्नागिरी र पालघर जिल्लामा बुधबार बिहानसम्म नै उच्च सतर्कता रहनेछ ।

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारका अनुसार हालसम्म १० लाख एकडभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । उनले मुम्बईस्थित मिटी खोला लगातार बढिरहेको हुँदा बृहत् मुम्बई महानगरपालिकाले परिस्थितिमा नजिकबाट निगरानी राखिरहेको जानकारी दिएका छन् ।

मंगलबार दिउँसोबाट केन्द्रीय रेल्वेले छत्रपति शिवाजी महाराज टर्मिनस र कुर्लाबीचको हार्बर लाइनमा रेल सेवा बन्द गरेको छ । अविरल वर्षाले रेलमार्ग डुबानमा परेपछि यस्तो कदम चालिएको अधिकारीहरूले बताएका छन् ।

त्यस्तै, इन्डिगो एयरलाइन्सले मुम्बईस्थित यात्रुहरूलाई भारी वर्षा र जलमग्न सडकका कारण यात्रा सल्लाह जारी गरेको छ । विमानस्थल जाने मुख्य मार्गहरूमा पानी जमेकाले यातायात सुस्त र सञ्चालनमा कठिनाइ भइरहेको छ । 

यसले गर्दा विमान उडान र अवतरणमा ढिलाइ हुने भएकाले यात्रुहरूलाई आफ्नो उडान स्थिति इन्डिगोको मोबाइल एप वा वेबसाइटमार्फत् जाँच गर्न आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्