२६ असार २०८३, शुक्रबार
पूर्वराष्ट्रपतिको सक्रियता

मदन भण्डारी फाउन्डेसनका नाममा सम्पर्क कार्यालय खोल्दै विद्या भण्डारी

भदौ ५, २०८२
काठमाडौं
मदन भण्डारी फाउन्डेसनका नाममा सम्पर्क कार्यालय खोल्दै विद्या भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन् ।

काठमाडौंको थापागाउँ लाखेचौर मार्गमा सम्पर्क कार्यालय उद्घाटन गर्न लागेको भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । 

‘ठ्याक्कै पूर्व राष्ट्रपतिको नाममा सम्पर्क कार्यालय होइन, ‘मदन भण्डारी ७५ औं (हिरक) जन्मजयन्ती  मूल व्यवस्थापन समिति’को कार्यालय उद्घाटन गर्न लागिएको हो,’ राईले लोकान्तरसँग भने, ‘२ बजे पूर्व राष्ट्रपतिले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गर्नुहुन्छ ।’

फाउन्डेसनले २०८४ सालसम्मको कार्यक्रम तयार गरेको छ । 

सक्रिय राजनीतिमा फर्किने भण्डारीको घोषणापछि एमालेले उनको पार्टी सदस्यता नरहेको निर्णय गरेको छ । सम्माननीय भइसकेकाले पूर्व राष्ट्रपति राजनीतिमा फर्किन नहुने एमालेको निर्णय छ ।

पार्टीले निर्णय गरे पनि भण्डारीले सक्रिय राजनीति गर्ने बताउँदै आएकी छिन् । पार्टीले औपचारिक बाटो बन्द गरे पनि उनले आफूलाई एमलेको पूर्व उपाध्यक्षको रूपमा अगाडि सारेकी छिन्  

पार्टी निर्णयपछि पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूलाई कसैले रोक्न नसक्ने बताएकी थिइन् । 

एमालेमा सक्रिय हुने आफ्नो तयारीलाई उनले तत्काल फाउन्डेसनमार्फत अगाडि बढाउन लागेकी हुन् । बुधबार हीरक जयन्तीलाई लक्षित गर्दै भण्डारीले कार्यालय उद्घाटन गर्न लागेकी हुन् । 

‘आज कार्यालय उद्घाटन हुन्छ । अनि के–के कसरी अगाडि बढ्ने विस्तारै तय हुँदै जान्छ,’ राईले भने, ‘त्यसपछि प्रदेश र जिल्लाका कार्यक्रम बन्छन् । उहाँको सक्रियता त्यतातिर बढ्दै जान्छ ।’

कार्यालय उद्घाटनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेतालाई निमन्त्रणा गरिएको राईले जानकारी दिए । 

‘फाउन्डेसनले मनाउने हीरक जयन्तीका लागि सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसहित एमालेका सबै शीर्ष नेतालाई निमन्त्रणा गरिएको छ,’ राईले भने, ‘कार्य व्यस्तताले प्रधानमन्त्री आउनुहुन्न । तर, अरू नेताहरू आउनुहुन्छ ।’ 

यसअघि भण्डारीले राजनीतिमा फर्किने घोषणा गर्दा गत असार १४ गते ओली फाउन्डेसनको कार्यक्रममा सहभागी भएका थिए ।

ओली हिँडेपछि भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन् । उनको सो घोषणापछि पार्टीले साउन ६ गते मध्यराति उनी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने औपचारिक घोषणा गरेको थियो । 

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताले सम्बोधन गर्ने राईले बताए । 

२०४८ सालको चुनावमा मदन भण्डारीले यही ठाउँमा बनेको घरलाई सम्पर्क कार्यालय बनाएका थिए । अहिले भण्डारीले पनि त्यही बनेको घरलाई सम्पर्क कार्यालय बनाउन खोजेकी हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्