०७ असार २०८३, आइतबार
संसद्‌मा गगन थापाको सम्बोधन

गगनले संसद्‌बाट ओलीलाई भने- राम्रो भइरहेको छैन, मानिसहरूले चित्त बुझाइरहेका छैनन्

भदौ ५, २०८२
काठमाडौं
गगनले संसद्‌बाट ओलीलाई भने- राम्रो भइरहेको छैन, मानिसहरूले चित्त बुझाइरहेका छैनन्

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सरकारको कार्यशैलीप्रति जनतामा असन्तुष्टि रहेको बताएका छन् । उनले वरिपरि ताली बजाएर सबै राम्रो भइरहेको छ भन्नेको कुरा नसुन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा महामन्त्री थापाले कांग्रेस–एमाले सरकार गठन हुँदाको बेलाको उत्साह मरेको भन्दै नयाँ ढंगले काम गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।

‘म यति कुरा आग्रह गर्न चाहन्छु, यो बेलामा वरिपरि सबैले ताली बजाएर राम्रो भएको छ प्रधानमन्त्रीज्यू भन्छन् । विगतमा राजा महाराजालाई सबैले दूध भात खाइरहेका छन् भने जस्तो हो । राम्रो भइरहेको छैन प्रधानमन्त्रीज्यू, मानिसहरूले चित्त बुझाइरहेका छैनन् । स्पिरिट र स्पिड भइरहेको छैन, ढंग पुगिरहेको छैन’, थापाले भने ।

थापाले आफू सरकारको पेसेवर आलोचक नभएको भन्दै पार्टी सम्मिलित सरकारलाई सफल बनाउनु आफ्नो दायित्व भएको बताए ।

‘केही नयाँ कुरा गर्नु पर्दैन ? रिजल्टको भोक चाहिँदैन ? मेरो छटपटीको कुरा यो सरकार सफल होस् भन्ने हो’, थापाले भने, ‘अहिले अरू विकल्प पनि छैन, बहकिएर होइन अडिएर गहिराइमा गएर सोच्नु पर्छ किन आलोचना भइरहेको छ ? त्यो उत्साह किन मरेको छ ? कसरी जोगाउने हो ? त्यसको बारेमा ठीक ढंगले चिन्तन गर्न सबै कुरा छाडेर प्राथमिकतामा आओस् भन्नेतर्फ सुझाव दिन चाहन्छु ।’

थापाले सरकारको ढंग नपुग्दा एकजना ठगीका अभियुक्त (रवि लामिछाने)को वरिपरि बहस घुमिरहेको पनि बताए । 

salt training

कमेन्ट गर्नुहोस्