०१ असार २०८३, सोमबार

उमागौरी सहकारी ठगी प्रकरण : लेखा समिति सभापतिकी श्रीमतीसहित ४ जनासँग जनही १/१ करोड धरौटी माग

भदौ ५, २०८२
विराटनगर
उमागौरी सहकारी ठगी प्रकरण : लेखा समिति सभापतिकी श्रीमतीसहित ४ जनासँग जनही १/१ करोड धरौटी माग

मोरङको उमागौरी सहकारी संस्थामा भएको २२ करोडभन्दा बढीको ठगी प्रकरणमा उच्च अदालत विराटनगरले जिल्ला अदालतको  आदेशलाई उल्ट्याएको छ ।

उच्च अदालतले यस प्रकरणमा मुछिएकी प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित चार जनालाई जनही १ करोड रूपैयाँ धरौटी तोकेको हो ।

उच्च अदालत विराटनगरका न्यायाधीश विष्णुप्रसाद अर्यालको एकल इजलासले बिहीबार यो आदेश गर्‍यो ।  अञ्जला कोइराला, रोशन राजवंशी, सन्तलाल खवास र ज्योति बाँस्कोटाको हकमा उच्च अदालतले  १/१ करोड रूपैयाँ धरौटी माग गरेको उच्च अदालतका रजिस्ट्रार जगदिशप्रसाद भट्टले जानकारी दिए । 

यसअघि जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले गत पुस २४ गते कोइरालालाई १० लाख, बाँस्कोटालाई ५ लाख, सुमन लोहनीलाई २ लाख र मनोजकुमार सोनीलाई १ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

जिल्लाको सोही आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले प्रतिवादीहरूलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मागसहित उच्च अदालतमा पुनरावेदन गरेको थियो । 

जिल्लाले सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र पूर्व वडाध्यक्ष रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । रोशनलाई भने उच्च अदालतले १ करोड रूपैयाँ धरौटी माग गरेको छ  भने अध्यक्ष रौनियारको हकमा जिल्लाको आदेशलाई सदर गरेको छ । 

null

तीन महिनाको छोटो अवधिमा मुद्दाको पेसी १३ पटक स्थगित भएको थियो ।  र, एक पटक ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । यसअघि वैशाख ११ गते न्यायाधीशद्वय श्रीधराकुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासमा प्रतिवादीहरूलाई माग्ने धरौटी रकममा राय बाझिएको थियो । 

न्यायाधीश बास्तोलाले अञ्जलासहित चार जनासँग १/१ करोड धरौटी माग्नुपर्ने राय दिएका थिए भने न्यायाधीश पुडासैनी भने जिल्लाकै आदेश सदर गर्ने पक्षमा थिइन् । यही मतभेदका कारण मुद्दा तेस्रो न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलासमा पुगेको थियो ।  अर्यालको इजलासले  न्यायाधीश बास्तोलाको रायलाई सदर गर्ने आदेश दिएको हो ।

मोरङको धनपालथान गाउँपालिका-४ मा रहेको उमागौरी सहकारी संस्थाका ८,८४२ शेयर सदस्यको करोडौं रूपैयाँ हिनामिना भएको थियो । छानबिनका क्रममा सहकारीको कूल २२ करोड ४८ लाख २७ हजार रूपैयाँ अपचलन गरिएको पुष्टि भएपछि गत मंसिरमा अञ्जलासहित २६ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दायर गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्