
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा सगरमाथामा थुप्रिएका ५ हजार किलोग्राम फोहोर सङ्कलन गरेको छ । प्रोजेक्ट केयर अभियानअन्तर्गत उक्त फोहोर सङ्कलन गरिएको हो ।
नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले फोहोर सङ्कलनसम्बन्धी प्रतिवेदन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीलाई हस्तान्तरण गरेका हुन् ।
सो कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष नितेशकुमार अग्रवाल, राउन्ड टेबल नेपालका पदाधिकारीहरू, प्रोजेक्ट केयरको प्राविधिक साझेदारको रूपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधिहरू, फोहोर व्यवस्थापन, रिसाइकलिङ र वातावरणीय संरक्षणमा योगदान पुर्याउँदै आएको संस्था खालीसीसीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)सँग सहकार्य गरिएको प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।
पहिलो चरणमा ५ हजार किलोग्राम फोहोर सङ्कलन गर्न सफल भएकोमा आबद्ध सबै सरोकारवालाहरूलाई उनले धन्यवाद दिए ।
आगामी दिनमा पनि वातावरणको रक्षाका निम्ति र नेपालको धरोहर तथा पहिचानका रूपमा स्थापित सगरमाथाको सौन्दर्यतालाई कायम राख्न नेपाल लाइफ सदैव तयार रहेको उनले प्रतिबद्धता जनाए ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।
राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गरिएको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको कुरा बताए ।
साथै उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको उनले बताए ।
नेपाल सरकार तथा अन्तर्राष्ट्रिय जगतले पनि सफाइ प्रयास जारी राखे तापनि प्रभावकारी हुन नसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याएको उनको भनाइ छ ।
यस क्रममा कुहिने फोहोरलाई आधार शिविर भन्दा तल पुरिएको र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइएको उनले बताए ।
उनका अनुसार, काठमाडौं ल्याइएको फोहोरलाई खालीसीसीको सहकार्यमा रिसाइकलिङ गर्ने योजना रहेको छ । साना प्रयासहरूले नै ठूलो प्रभाव पार्ने भन्दै अग्रवालले नेपाल लाइफलाई अभियानमा सहभागी भएकोमा धन्यवाद दिए ।
सगरमाथाले बर्सेनि हजारौं पर्वतारोहीहरूलाई आकर्षित गर्ने गरेको भए पनि मानव गतिविधिको वृद्धिसँगै फोहोरको डंगुर बन्दै गएको छ ।
त्यागिएका टेन्टहरू, अक्सिजन सिलिन्डरहरू, खानेकुरा प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरू हिमालमा छोडिएको कारण यो 'विश्वकै सबैभन्दा अग्लो फोहोर थलो' नबनोस् भन्ने अभिप्रायका साथ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियानलाई सहयोग गरेको हो ।