
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान ६:३५ बजे चट्टानसहितको सुक्खा पहिरो खसेपछि सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै लामो र छोटो दुरोका सवारीसाधन बाटोमै रोकिएका छन् । काठमाडौंबाट गएका र मुग्लिनतिरबाट आएका सवारीको बाटोमा लाम लागेको छ ।
तर, सडक खुलाउने प्रयास भने भैरहेको छ । सडक सुचारु गर्न इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
उनका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम शुरू भएको छ । यो सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
यसैगरी, हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक पनि अवरुद्ध छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
यता, हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ भने सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा गए रातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।