०५ साउन २०८३, मंगलबार

ललितपुरले जडान गर्‍यो उपत्यकामा नै पहिलो पटक अर्लि वार्निङ प्रणाली

नदीमा पानीको बहाव बढेपछि घण्टीले दिन्छ सूचना
भदौ ८, २०८२
ललितपुर
ललितपुरले जडान गर्‍यो उपत्यकामा नै पहिलो पटक अर्लि वार्निङ प्रणाली

ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्वजानकारी दिन ‘अर्लि वार्निङ प्रणाली’ जडान गरेको छ ।

महानगरले पालिकाभित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो । 

वडा नं.२८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं.४ नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
 
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र पर्ने मुख्य दुई नदी नजिकै यो प्रणाली जडान गरिएको बताए । उनले भने, ‘यी दुईवटा नदी वरपरका अन्य वडाहरूलाई पनि सचेत हुन यो प्रणालीले मद्दत गर्छ ।’ 

उनका अनुसार नदीमा पानीको बहाब बढेपछि घण्टी बज्छ, यो घण्टीले सचेत हुन र आवश्यक सावधानी अपनाउन मद्दत गर्छ । आवश्यक भए अन्यत्र पनि जडान गर्ने महानगर प्रमुख महर्जनले बताए । 

महानगर विपद् व्यवस्थापन शाखाका अनुसार झण्डै दुई किलोमिटरसम्म घण्टीको आवाज सुनिन्छ । बाढीको अवस्थाबारे नगर प्रहरी र अन्य सरोकारवालालाई जानकारी दिन समेत संयन्त्र जडान गर्ने तयारी महानगरले गरेको छ । अर्लि वार्निङ सिस्टम जडान गर्नुको मुख्य उद्देश्य जनधनको क्षति हुन नदिनु भएको नगर प्रमुख महर्जनले बताए । 

ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि एउटै छानामुनि विपद् व्यवस्थापनमा आवश्यक जनशक्ति र सामग्रीको व्यवस्थापन गरेको छ । पुल्चोक दमकलस्थित नगर प्रहरी बल कार्यालयमा नगर प्रहरी, दमकल, शववहान, डुङ्गाको व्यवस्थापन गरेको छ । 

यसैगरी, विपद्को बेलामा प्रयोग गर्नुपर्ने अन्य सामग्रीमा पनि त्यहाँ राखिएको छ । ललितपुर महानगरका प्रमुख महर्जनले विपद् भइहाले आवश्यक पर्ने सबै संयन्त्र एकै पटक पुगोस् भन्ने हेतुले एकै छानामुनि सबै संयन्त्रको व्यवस्था गरेको बताए । 

‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार विपद् व्यवस्थापनका बेला जनशक्तिसँगसँगै  एम्बुलेन्स पनि सँगै जानुपर्छ, हामीले यो अभ्यासलाई ललितपुर महानगरमा प्रयोग गरेका छौं । महानगरले अघिल्लो वर्ष असोजको दोस्रो साता आएको बाढीमा उद्धारका लागि डुङ्गाको सख्त अभाव भएपछि महानगरले केही महिना अघि डुङ्गा खरिद गरेको छ । यसका साथै साना ठूला गरी ६ वटा दमकल महानगरसँग छ’, नगर प्रमुख महर्जनले भने, ‘गल्लीभित्र पसेर आगो निभाउन सक्ने दमकल पनि महानगरसँग छ ।’ 

महानगरले विभिन्न कारणले हुने विपद्‌बाट जोगिन वडास्तरसम्म पुगेर सचेतना कार्यक्रम पनि आयोजना गरेको छ । महानगरको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकाले वडैपिच्छे विपद् व्यवस्थापन र सचेतनाका लागि वडास्तरीय स्वयंसेवक समूह गठन गर्ने तयारी समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्