
एलोन मस्कको महत्वाकांक्षी स्टारशिप रकेटको दशौं अभियान अन्तिम समयमा फेरि स्थगित भएको छ । मस्कको कम्पनी स्पेसएक्सले आइतबार टेक्सासबाट प्रक्षेपण तयारी गरिए पनि प्याड प्रणालीमा प्राविधिक त्रुटि पत्ता लागेपछि अन्तत: रोकिएको हो ।
स्पेसएक्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा 'जमिन प्रणाली समस्या समाधान गर्न प्रक्षेपण रोकिएको जनाएको छ । ७०.७ मिटर अग्लो सुपर हेभी बूस्टर र यसको माथिको ५२ मिटर अग्लो स्टारशिप स्पेसएक्सको स्टारबेस रकेट सुविधामा प्रक्षेपणको लागि तयार थिए ।
यसलाई रिफ्युल गरिएको थियो । तर उडान हुनुभन्दा ३० मिनेटअघि, स्पेसएक्सले प्रक्षेपण रद्द गरेको हो ।
यसअघि अन्तिम समयमा रकेट प्रक्षेपण धेरैपटक रोकिएको छ । यद्यपि, यस्ता अवरोधहरू केही दिन भित्रै समाधान हुन्छन् । हाल, स्पेसएक्सले अर्को प्रक्षेपण कहिले गर्ने भनेर बताएको छैन ।