१६ असार २०८३, मंगलबार
रुस-युक्रेन युद्ध

रुसी कब्जानजिक पुगेको डोनेत्स्कभित्रको चित्कार: इञ्च-इञ्चका लागि लडाइँ, घर छाड्दै युक्रेनी

भदौ ९, २०८२
काठमाडौं
रुसी कब्जानजिक पुगेको डोनेत्स्कभित्रको चित्कार: इञ्च-इञ्चका लागि लडाइँ, घर छाड्दै युक्रेनी
घर छाड्दै डोनेत्स्कवासी । तस्वीर : BBC

पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्र लामो समयदेखि मस्कोको 'टार्गेट'मा रहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस क्षेत्रमा पूर्ण नियन्त्रणको सर्तमा युद्ध रोक्ने प्रस्ताव गरेको बताइन्छ ।

रुसले डोनेत्स्कको करिब ७० प्रतिशत भूभाग र छिमेकी लुहान्स्कको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिइसकेको छ । अहिले पनि रुसी सेना ढिलो गतिमा भए पनि निरन्तर अगाडि बढिरहेको छ ।

यसबीच, डोनेत्स्कको अग्रपंक्तिमा पर्ने दोब्रोपिलिया शहरमा मानवीय उद्धार टोली सक्रिय छन् ।

यो शहर रुसी नियन्त्रणको भूभागबाट मात्र ८ किलोमिटर टाढा पर्छ । दुई स्वयंसेवक लार्ज (३१ वर्षे जर्मन नागरिक) र वारिया (१९ वर्षीया युक्रेनी) बिरामी, वृद्ध र बालबालिकालाई सुरक्षित स्थानमा लैजाने मिसनमा छन् ।

बख्तरबन्द गाडीमा ड्रोन अवरोध गर्ने उपकरणसहित उनीहरू शहरतर्फ पुग्दा सडक सुनसान थियो ।

शहर एक सातादेखि पानीविहीन छ । अधिकांश घर ध्वस्त छन्, बाँकी बासिन्दाहरू आवश्यक सामग्री लिन छिटपुट रूपमा बाहिर निस्किन्छन् । रुसी आक्रमण दैनिक भइरहेको छ ।

५६ वर्षीय स्थानीय बासिन्दा भिताली कालिनिचेन्को आफ्नो अपार्टमेन्ट बाहिर उद्धार टोली पर्खिरहेका थिए ।

उनले भने, 'मेरो सबै झ्याल फुट्यो, दोस्रो तलाबाट सबै उड्यो । म मात्रै बाँकी छु ।'

केही दिनअघि खसेको ड्रोनको टुक्राले उनको खुट्टामा चोट समेत लागेको छ ।

शहरमा उद्धार जारी रहँदा रुसी ड्रोन वरिपरि देखिन्थे । कहिलेकाहीँ विस्फोटको आवाजले वातावरण थर्काइरहेको थियो । उद्धार टोलीले परिवारहरूलाई एकपछि अर्को उद्धार गर्दै शहर बाहिर लैजाने काम गरिरह्यो ।

एन्टन नामक ३१ वर्षीय युवक पनि उद्धारमा सहभागी भए । आमालाई छाडेर उनी आँसुका बीच बाहिरिएका थिए । उनले भने, 'वार्ताको टेबलमा बस्नुपर्छ र शान्तिपूर्ण समाधान खोज्नुपर्छ– रगतबिना, आहुतिबिना ।'

तर, वारियाले फरक दृष्टिकोण प्रस्तुत गरिन् । उनले भनिन्, 'हामी कहिल्यै पुटिन वा रुसमाथि विश्वास गर्न सक्दैनौं । डोनबास छाड्यौं भने अझ ठूलो आक्रमणको ढोका खुल्छ ।'

युक्रेनका लागि डोनबासमा स्थिति दिन प्रतिदिन खतरनाक बन्दै गएको छ । राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले यस वर्षभित्रै क्षेत्र गुम्ने अड्कललाई अस्वीकार गर्दै बाँकी भाग नियन्त्रण गर्न रुसलाई अझै चार वर्ष लाग्ने दाबी गरेका छन् । तर, पश्चिमी देशबाट थप हतियार र सहयोगबिना युक्रेनले ठूलो भूभाग फिर्ता लिने सम्भावना न्यून देखिन्छ ।

डोनेत्स्क युक्रेनको सुरक्षात्मक संरचनाका लागि अत्यन्त संवेदनशील मानिन्छ । यदि यो क्षेत्र गुम्यो भने छिमेकी खार्किभ र जापोरिज्जिया मात्र नभई अन्य क्षेत्र पनि उच्च जोखिममा पर्नेछन् । तर, यसलाई जोगाउनुपर्ने मूल्य युक्रेनी सैनिकको जीवन र अंगले तिर्नुपरेको छ ।

स्थानीय अस्पतालहरूमा युद्धका घाइतेहरूको चाप बढ्दै गएको छ । राष्ट्रिय गार्डको १४औं अपरेशनल ब्रिगेडका शल्यचिकित्सक डिमा, जो ४२ वर्षका छन्, रातको समयमा निरन्तर घाइतेको उपचारमा व्यस्त देखिन्छन् ।

गोली लागेका, छर्राले छेडिएका र ड्रोन आक्रमणबाट खुट्टा गुमाएका सैनिकहरू निरन्तर ल्याइन्छन् ।

उनले भने, 'मलाई अझ धेरै गर्न सक्ने अनुभव छ, तर समय हुँदैन । हामी युद्ध रोक्न चाहन्छौं, तर यसरी होइन । हामी हाम्रो भूभाग, हाम्रो जनता फिर्ता चाहन्छौं र रुसलाई सजाय दिनुपर्छ ।'

डोनेत्स्कका खेतबारीबीच नयाँ तारबार, गहिरा खाल्डा, काँक्रिटका अवरोध र किल्लाबन्दीहरू निर्माण भइरहेका छन् । लाखभन्दा बढी रुसी सैनिक अर्को मौका खोजिरहेका छन् भन्ने अनुमान गरिएको छ ।

यी नयाँ सुरक्षात्मक संरचनाले डोनेत्स्कमा बिग्रँदो अवस्थाको संकेत दिन्छ । बाँकी भूभाग कूटनीतिक सम्झौताबाट गुम्न सक्छ, तर अहिलेसम्म युक्रेन थकित भए पनि हरेक इन्चका लागि जुधिरहेको छ ।

  • बीबीसीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्