
एकताका लागि पटक–पटक गरेको निर्णय अलपत्र परेको अवस्थामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैं नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न पुगेका छन् ।
सोमबार प्रचण्ड ललितपुरको हरिसिद्धिस्थित विप्लवको निवासमा पुगेका हुन् । सचिवालयबाट जानकारी गराएरै प्रचण्ड विप्लवको निवास पुगेका थिए, जहाँ प्रचण्डलाई विप्लव र उनका नेता/कार्यकर्ताले फूल र धूपीको गुच्छाले स्वागत गरेका थिए । दुई नेताबीच पौने घण्टा कुराकानी भएको थियो ।
भेटमा साउन १६ देखि १९ गतेसम्म बसेको माओवादीको स्थायी कमिटी बैठकले गरेको निर्णयानुसार नेकपासँगको एकताबारे छलफल भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
‘हाम्रो पार्टीको स्थायी कमिटीले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछिको अवस्थाबारे कुराकानी गर्न अध्यक्ष प्रचण्ड विप्लव कमरेडको निवासमा पुग्नुभएको हो,’ आचार्यले भने, ‘पार्टीले निर्णय गरेपछिका विषयमा छलफल भएको छ । त्यस्तै, समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ ।’
समाजवादी मोर्चालाई थप प्रभावकारी बनाएर लैजानेबारे पनि कुराकानी भएको आचार्यले जानकारी दिए ।
विप्लवको सचिवालयले पनि माओवादीसँग एकता, समसामयिक राजनीतिक गतिरोधबारे छलफल भएको जानकारी दियो ।
नेकपाका प्रवक्ता प्रकाण्डले पनि देशको क्रिटिकल अवस्था र पार्टी एकताको विषयमा केन्द्रित रहेर कुराकानी भएको जानकारी दिए । माओवादीले पटक–पटक निर्णय गरे पनि एकताका लागि लामो ग्याप भएको प्रचण्डले विप्लवसँग बताएको जानकारी प्रकाण्डले दिए ।
‘हामीले पनि पार्टीबाट औपचारिक रूपमा एकता गर्ने भनेर निर्णय गरेका थियौं । यसलाई अध्यक्ष प्रचण्डले पनि स्वीकार्नुभएको छ । तपाईंहरूले पहिले नै निर्णय गर्नुभएको हो भन्नुभयो,’ प्रकाण्डले भने, ‘तर, हामीले निर्णय गरेपछि एकताको प्रक्रियाका लागि अलि ग्याप भयो भन्नुभयो ।’
भेटमा विप्लवले स्थायी कमिटीबाट गरेको निर्णयबारे ठोस पहलकदमी लिन प्रचण्डलाई आग्रह गर्दै आफूले पनि केन्द्रीय कमिटीबाट आवश्यक निर्णय लिने बताएका थिए ।
‘तपाईंहरूले निर्णय गरेर लामो समय राख्नुभयो । पार्टीले निर्णय गरिसकेपछि यसलाई कसरी अगाडि बढ्न खोजिएको हो भनेर प्रस्ट पार्न हाम्रो महासचिवले प्रचण्डलाई भन्नुभएको छ,’ प्रकाण्डले भने, ‘हामी पनि भदौको अन्तिममा केन्द्रीय कमिटी बैठकबाट माओवादीको एकताको निर्णय र हामीहरूले चाहेको एकता प्रक्रियाबारे आवश्यक निर्णय गर्छौं ।’
माओवादीमा आन्तरिक मतभेद बढ्दा रणनीतिकरूपमा पार्टी एकताको कार्ड फ्याँक्ने गरेको प्रति नेकपा सचेत देखिएको छ । ‘हाम्रो क्रान्तिको मोर्चा पनि छ । यस्तो मोर्चालाई टालटुले हिसाबले परम्परागत रूपमा टुंग्याउने पक्षमा हामी छैनौं,’ प्रकाण्डले भने, ‘माओवादीले पनि कसरी सोचेको हो, भन्नुपर्छ । हामीले त क्रान्तिकारी ढंगले सोचेर छलफल गर्दा एकताको आधार बन्न सक्छ भनेका हौं । तर, टालटुले र पुरानो ढर्राको एकताको अर्थ छैन भन्दै आएका छौं । मूल्य–मान्यता र संरचनाका आधारमा देश र जनताको हितसँग जोडिने एकताको पक्षमा हामी सधैं छौं ।’
माओवादीमा आन्तरिक ध्रुवीकरण बढ्दा पटक–पटक एकताको कार्ड आएपछि नेकपाले ढुक्कले माओवादीलाई विश्वास गर्न सकिरहेको छैन । पार्टीभित्र उपमहासचिव जनार्दन शर्मासँग टसल बढ्दै जाँदा फेरि माओवादीले एकताको कार्ड फ्याँकेको छ । यसलाई कतिपयले प्रचण्डको रणनीतिक मुभको रूपमा पनि लिएका छन् । प्रचण्ड र शर्माबीच सार्वजनिक रूपमै एक अर्काबीच आरोपप्रत्यारोपको शृंखला केही समयदेखि चल्दै आएको छ । यस्तै, टसलका बीच रणनीतिक सन्देश दिन प्रचण्ड विप्लवलाई भेट्न गएको पनि नेताहरू बताउँछन् ।
‘रणनीतिक हो भने एकता मात्रै भनेर हुँदैन । यसैले हामीले माओवादीबाट आएको स्थायी कमिटीको निर्णय कति सिरियस हो भनेर प्रस्टता खोजेका हौं,’ प्रकाण्डले भने, ‘हामी राजनीतिक आन्दोलनलाई रिभ्यु गर्नुपर्छ, नयाँ ढंगले समाजवादी क्रान्तिमा होमिनुपर्छ भन्नेमा छौं ।’
प्रचण्ड र विप्लवबीच देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको थियो । देश क्रिटिकल अवस्थामा रहेको भन्दै प्रकाण्डले यही स्थितिमा अगाडि बढ्न नहुनेबारे छलफल भएको जानकारी दिए ।
‘दुई नेताबीच पछिल्लो समय देश क्रिटिकल अवस्थामा रहेकोबारे पनि खुलेर छलफल भयो,’ प्रकाण्डले भने, ‘यसैले यसबाट कसरी निकास निकाल्ने, हामीले समाजवादी मोर्चालाई पुरानै होइन, नयाँ ढर्रामा कसरी व्यावहारिक बनाउने भनेर पनि सल्लाह भएको छ ।’
माओवादी केन्द्रका महासचिव देव गुरुङले पार्टी एकताको विषयमा गणितीय फ्रेम नहुने बताए ।
‘हामीले नेकपासँग एकता गर्ने निर्णय गरेका छौं । निर्णयमा कति प्रयास भए भनेर अहिले नै नतिजा खोजिहाल्ने अवस्था आएको छैन । पार्टी एकताको विषय गणितीय टाइमफ्रेम जस्तो हुँदैन,’ गुरुङले लोकान्तरसँग भने, ‘आज पनि अध्यक्षले विप्लवसँग भेट गर्नुभयो । त्यस्तो ठोस प्रगति केही भएको छैन ।’
कम्युनिस्टबीच एकताको कुरा शाश्वत मान्यता जस्तो भएको गुरुङ बताउँछन् ।
‘कम्युनिस्टहरूमा विचार मिल्नेबीचको एकताको कुरा शाश्वत मान्यता जस्तै हो, यो चलिरहन्छ,’ गुरुङले भने, ‘यसैले विचार मिल्नेबीच एकताको कुरा आइरहन्छन् । व्यवहारमा कति लागू हुन्छ, कहिले टुंगोमा पुग्छ भनेर ठ्याक्कै भन्न सकिँदैन ।’
प्रचण्डअघि माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि विप्लवलाई भेटेका थिए । श्रेष्ठले मत मिल्ने दलसँग एकता गर्ने वा प्रभावकारी मोर्चाबन्दी गर्न सकिनेबारे छलफल चलाउँदै आएका छन् ।
प्रचण्डलाई आफ्नै कुर्सी हस्तान्तरण
सामान्यतया राजनीतिक प्रणालीमा कुनै पनि दलका नेताले आफू बसेको कुर्सीमा अर्को नेतालाई बसाउँदैनन् । तर, सोमबार आफूलाई भेट्न आएका प्रचण्डलाई विप्लवले हरिसिद्धिस्थित निवासको मुख्य कुर्सी नै हस्तान्तरण गरेका छन् । माओवादी जनयुद्धमा सँगै लागेको र नेता मानेकाले विप्लवले कुर्सी शेयर गर्न कुनै अप्ठ्यारो नमानेको उनको सचिवालयले जनाएको छ ।
‘प्रचण्ड हिजोको नेता हो । हामी सबैको नेता हो । हाम्रो आफ्नो पार्टी लाइन छ । यसैले कुर्सीमा अप्ठ्यारो मानिराख्नुपर्दैन । हामी कुर्सीमा मोह राख्नेमा पर्दैनौं,’ विप्लवको सचिवालयले भनेको छ, ‘विप्लव कमरेडका लागि कुर्सी होइन, जनताको सेवा, सामाजिक–आर्थिक परिवर्तन, विकास, समृद्धि र राजनीतिक गतिरोधको अन्त्य मुख्य कुरा हो ।’
भेटघाटका क्रममा विप्लवले हरिसिद्धिमा साढे चार रोपनी जग्गामा गरिएको धानखेतीबारे प्रचण्डलाई जानकारी गराएका थिए । ‘भेटका क्रममा महासचिवले निवास रहेको आसपासको जग्गामा गरिएको धान र तरकारी खेतीबारे जानकारी गराउनुभयो । यहाँ पाँच रोपनीमध्ये आधा रोपनीमा निवास बनाइएको छ । बाँकी धान र तरकारी खेती गरिएको छ,’ विप्लवको सचिवालयले भन्यो, ‘यसैबारे महासचिवले प्रचण्डलाई जानकारी गराउनुभएको हो । यस्तो खेती हाम्रो पार्टीले कपिलवस्तु, काठमाडौं, भक्तपुरसहित देशैभर गरेको छ । जनतालाई उत्पादनसँग जोडिएको विषयमा प्रचण्डले पनि चाख मान्नुभयो ।’