०६ असार २०८३, शनिबार

‘रचनात्मक पत्रकारिता हाते पुस्तक’ सार्वजनिक

भदौ ९, २०८२
काठमाडौं
‘रचनात्मक पत्रकारिता हाते पुस्तक’ सार्वजनिक

रचनात्मक पत्रकारिताबारे पहिलो नेपाली पुस्तक पाठकका लागि उपलब्ध भएको छ । 

पत्रकार तथा अध्येता टुमराज कोइरालालिखित पुस्तक सोमबार सार्वजनिक गरिएको प्रकाशक सञ्चार रजिस्ट्रारको कार्यालय, बागमती प्रदेशले जानकारी दिएको छ । 

सञ्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटाका अनुसार समाजमा फैलिरहेको निराशा र नकारात्मकता न्यूनीकरण गर्न विश्व पत्रकारितामा भइरहेको नवीन अभ्यासको आधारभूत जानकारी नेपालीमा दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो ।

प्रविधिको तीव्र विकाससँगै नकारात्मक समाचारको व्यापक फैलावटका कारण पत्रकारिताप्रति खस्किरहेको विश्वासलाई रचनात्मक पत्रकारिताले पुनर्स्थापित गर्ने अपेक्षाका साथ विश्वका विभिन्न देशमा यसको अभ्यास बढिरहेको सापकोटाले जानकारी दिए । 

पुस्तकले उक्त अभ्यास अवलम्बन गर्न र अध्ययन गर्न चाहनेहरूलाई मार्गदर्शन गर्ने अपेक्षा लिएको उनले बताए । 

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले रचनात्मक पत्रकारिता अभ्यासका लागि पुस्तकले नेपाली पत्रकारहरूलाई झकझक्याउने विश्वास व्यक्त गरेका छन् । 

भोलिका दिनमा समाचार कक्षलाई हाँक्ने पत्रकारिताका विद्यार्थीहरूले नेपाली पत्रकारितालाई नयाँ गतिका साथ रचनात्मक दिशामा अघि बढाउन पुस्तकलाई उपयोगी ठानिने निष्कर्ष उनले पुस्तकको भूमिकामा उल्लेख गरेका हुन् । 

पुस्तकमा रचनात्मक पत्रकारिता अभ्यासको नेतृत्व गरिरहेका अन्तराष्ट्रिय संस्थाका नेतृत्वहरूले पनि भूमिका लेखेका छन् । समाधान पत्रकारिता नाम दिएर पत्रकारिताको रचनात्मक अभ्यास प्रवर्द्धन गरिरहेको ‘सोलुसन जर्नालिज्म नेटवर्क’की सह–संस्थापक तथा पुलित्जर पुरस्कार प्राप्त पत्रकार टिना रोजेनवर्गको पुस्तकबारे भनाइ छ, ‘नेपालका पत्रकार, पत्रकारितासम्बद्ध संघ–संस्था र नीतिनिर्माताहरूको सक्रिय पहलकदमीसँगै समाधान पत्रकारिता अब केवल अवधारणामा मात्रै सीमित छैन, अभ्यासको चरणमा प्रवेश गरिसकेको छ । सोलुसन्स जर्नालिज्म नेटवर्कद्वारा मान्यताप्राप्त प्रशिक्षकद्वारा तयार गरिएको यो पुस्तक पनि त्यसैको उपज हो ।’

त्यसैगरी, डेनमार्कको आह्रुस विश्वविद्यालयस्थित कन्स्ट्रक्टिभ इन्स्टिच्युटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उल्रिक हागरुपले भूमिकामा लेखेका छन्, ‘यस पुस्तकले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता र पत्रकारिताको भूमिका पुनर्विचार गर्ने साहसलाई अभिलेखन गरेको छ । पुस्तकले स्पष्ट पार्छ- यदि पत्रकारिता बिग्रियो भने लोकतन्त्र पनि संकटमा पर्छ भन्ने हामी सबैको साझा बुझाइ हो ।’

इन्स्टिच्युटकी एसिया–प्रशान्त निर्देशक तथा अष्ट्रेलियास्थित मोनाश विश्वविद्यालयमा रचनात्मक पत्रकारिताकी प्राध्यापक केट टोर्नीले पुस्तकको भूमिकामा भनेकी छिन्, ‘अब समय आएको छ– पत्रकारितामा यस्तो परिवर्तन ल्याउने, जसले नागरिकहरूलाई प्रेरणा दिन्छ, जानकारी दिन्छ र उनीहरूलाई सशक्त बनाउँछ । र, त्यो परिवर्तन रचनात्मक पत्रकारिताबाट शुरू हुन्छ ।’

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा एमफील–पीएचडी शोध गरिरहेका लेखक कोइरालाले रचनात्मक पत्रकारिताबारे विश्वमा भइरहेका अभ्यास र चलिरहेका अभियानको आँखीझ्याल स्वरूपमा पुस्तक तयार पारिएको बताएका छन् । 

उनी भन्छन्, ‘शोधका लागि अध्ययन गर्ने क्रममा रचनात्मक पत्रकारिताको अभ्यास नेपाली सन्दर्भमा पनि अपरिहार्य रहेको बोध भयो । त्यसैले प्राप्त ज्ञानलाई बाँड्दै जाने उद्देश्यका साथ पुस्तकको स्वरूपमा काम गरिएको हो ।’

कमेन्ट गर्नुहोस्