१० साउन २०८३, आइतबार

हिरासतमा बस्दा रवीन्द्र मिश्रले लेखे ३५ कविता, भदौ २८ मा पुस्तक सार्वजनिक हुँदै

भदौ ९, २०८२
काठमाडौं
हिरासतमा बस्दा रवीन्द्र मिश्रले लेखे ३५ कविता, भदौ २८ मा पुस्तक सार्वजनिक हुँदै

राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ भदौ २८ मा सार्वजनिक हुने भएको छ।

‘माथिको आदेश छ’मा सङ्ग्रहित कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए । ‘यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्’, उनले भनेका छन् ।

‘५० दिन हिरासतमा बस्दा मलाई ३५ वटा कविता फुरेछन् । कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो । हिरासत बसाइँमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रूपान्तरण गर्न सकेछु’, कविताबारे उनले भनेका छन् ।

त्यति छोटो अवधिमा त्यति धेरै कविता आफूले जीवनमा कहिल्यै नलेखेको उनले बताए । हिरासत बसाइँका क्रममा कुनै दिन दुई वटा कविता समेत लेखेको उनले बताए । 

मिश्रको यो दोस्रो कविता संग्रह हो । उनको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशित भएको थियो।

‘रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरूपमा अवतरित छन् । कविले होइन, कवित्वले कविता लेखाएको छ,’ कविता सङ्ग्रहको पाण्डुलिपि अध्ययन गरेका मदन पुरस्कार विजेता कवि तथा गीतकार नवराज लम्सालको टिप्पणी छ, ‘यसमा सूक्ष्म कथ्यमाथि बलियो र अटुट काव्यप्रवाह छ । यस सङ्ग्रहमा अध्यात्मतर्फ कविको आकर्षण पनि सुन्दर, सशक्त र गहिरो रूपमा प्रकट भएको छ ।’

‘पत्रकारिता, परोपकार वा राजनीतिको छविबिनै यस सङ्ग्रहका कवि रवीन्द्र मिश्र पूर्ण छन् । मिश्रलाई कविताको बाटोमा दह्रो गरी खुट्टा टेकेर उभिन यो कवितासङ्ग्रह पर्याप्त रहेको पद्मश्री साहित्य पुरस्कार विजेता कवि नवराज पराजुलीको बुझाइ छ । 

‘अनुभूतिलाई शब्दमा बिछ्याउँदा कविताको जुन बाटो बन्छ, रवीन्द्र मिश्र त्यो बाटोभरि इमानदार लाग्छन् । इमानदारी सौन्दर्य बनेर उनका कवितामा फुलेको छ,’ पराजुलीले लेखेका छन् । कवितासङ्ग्रह फाइनप्रिन्टले प्रकाशन गर्न लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्