०७ असार २०८३, आइतबार

ओलीलाई फकाउन खोज्दै भारत, राम माधवले भने, ‘ओली मेरा पुराना साथी’

मंसिर २६, २०७४
ओलीलाई फकाउन खोज्दै भारत, राम माधवले भने, ‘ओली मेरा पुराना साथी’

काठमाडौं, २६ मंसिर — नेपालमा वाम गठबन्धनले विजय प्राप्त गरेर सरकार बनाउन लागेपछि भारतीय पत्रिकाहरूमा धमाधम यससम्बन्धी विश्लेषणहरू आइरहेका छन् ।

यसै क्रममा भारतको अंग्रेजी दैनिक दी इन्डियन एक्सप्रेसमा ज्योति मल्होत्राको बाईलाईनमा एउटा विश्लेषण मंगलवार छापिएको छ । त्यसमा लेखिएअनुसार, भारतले नेपालको ताजा राजनीतिक घटनाक्रममा टिप्पणी नगरिकन राष्ट्रिय स्वयंसेवक संघका नेता राम माधवलाई बोल्न लगायो ।

राम माधवले भने, ‘म नेपाली जनता र वाम गठबन्धनलाई विजय दिलाउने केपी ओलीलाई बधाई दिन्छु । ओलीजीसँग मेरो लामो समयदेखि व्यक्तिगत सम्बन्ध भएको नाताले म भन्न सक्छु कि भारत र नेपालबीचको सम्बन्ध थप बलियो हुन्छ ।’

ओली सत्तामा आउनुलाई भारतको नेपाल नीतिको असफलताका रूपमा मल्होत्राले टिप्पणी गरेकी छन् । मधेशीहरूलाई मूलधारमा ल्याउनका लागि भन्दै भारतले अनौपचारिक रूपमा आर्थिक नाकाबन्दीलाई समर्थन गरेपछि ओली सरकारले त्यसको विरोध गरेको मल्होत्रा लेख्छिन् । उनले नेपालको सार्वभौमसत्तामा भारतको हस्तक्षेपलाई देखाउँदै मुलुकलाई चीनतर्फ लगेको मल्होत्राको टिप्पणी छ । 

राम माधव लगायत भारतका वरिष्ठ नेताहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीबीचको सम्बन्ध सुधार्नका लागि कोशिश गरेको मल्होत्रा लेख्छिन् । त्यसैले ओलीको विजयपछि उनलाई फकाउन भारतले कोशिश गरेको निष्कर्ष यसबाट निकाल्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्