
रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ ।
बुधबार बिहान शरीर जलेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका थिए । गरुडा अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । त्यहाँ उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दिए ।
गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव आइतबार बिहान सुटकेसमा प्याक गरेको अवस्थामा फेला परेको थियो ।
लक्ष्मणले बुधबार बिहान आफ्नै शरीरमा आगो लगाएका थिए । त्यसअघि उनले एक भिडियो जारी गर्दै रुबीको हत्या गरेको स्वीकार गरेका थिए ।