
सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपि हिमालको पहिलोपटक आरोहण हुने भएको छ ।
उक्त प्रयोजनका लागि १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए)द्वारा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आरोही टोलीलाई बिदाइ गरे । उनले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख गरे ।
नेपाल सरकारले हालैमात्र राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपि हिमालको आरोहण प्रारम्भ भएको हो ।
बिदाइ कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण क्षेत्र रहेको बताउँदै शेर्पा तथा गैरशेर्पा आरोहीको संयुक्त प्रयासले हिमालारोहणका क्षेत्रमा नयाँयुगको शुरूआत हुने विश्वास व्यक्त गरे ।
'यो अभियानले स्थानीय स्तरमा समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ,' मन्त्री पाण्डेले भने ।
अपि गाउँपालिकाबाट संलग्न टोलीमा १५ जना आरोही सहभागी छन् ।
आरोहण अभियानमा जोखिम रहे पनि स्थानीयलाई समेट्दै अघि बढाइएको यो पहल सुदूरपश्चिम पर्यटन र पर्वतारोहणका क्षेत्रमा नयाँ अवसरका रूपमा हेरिएको छ ।