११ साउन २०८३, सोमबार

युक्रेनमाथि रूसको भीषण आक्रमण, रूसी तेल शुद्धीकरण कारखानामा युक्रेनको प्रत्याक्रमण

भदौ १४, २०८२
काठमाडौं
युक्रेनमाथि रूसको भीषण आक्रमण, रूसी तेल शुद्धीकरण कारखानामा युक्रेनको प्रत्याक्रमण

रूसले युक्रेनका दक्षिणी र मध्य क्षेत्रहरूमा भीषण हवाई आक्रमण गरेको छ भने युक्रेनले प्रतिकारस्वरूप रूसी तेल शुद्धीकरण कारखाना आक्रमण गरेको छ ।

स्थानीय अधिकारीहरूका अनुसार दक्षिणी जापोरिझ्झिया क्षेत्रमा एक महिलाको मृत्यु भएको छ र तीन बालबालिकासहित ३० जना घाइते भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले करिब ५०० ड्रोन र ४५ मिसाइल प्रहार गरी देशभरका १४ वटा क्षेत्रमा आक्रमण गरेको जनाएका छन् ।

आक्रमणपछि रूसी रक्षा मन्त्रालयले ‘आक्रमणका सबै लक्ष्य पूरा भएको’ र ‘निर्धारित संरचना हानिएको’ दाबी गरेको छ।

यो घटना दुई देशबीच शान्ति सम्झौताका लागि भइरहेको अन्तर्राष्ट्रिय पहलबीच आएको हो । यसअघि बिहीबार युक्रेनमाथि भएको दोस्रो ठूलो हवाई आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो ।

ड्निप्रोपेत्रोभ्स्कका गभर्नर सेरही लिसाकले रातभर आफ्नो क्षेत्र भीषण आक्रमणमा परेको बताउँदै स्थानीयलाई सुरक्षित स्थानमा बस्न चेतावनी दिएका छन् । लगातार दोस्रो रात ड्निप्रोपेत्रोभ्स्क क्षेत्रमा आक्रमण भएको हो । यसअघि यसै हप्तामा युक्रेनले रूसी सेना सो क्षेत्रमा प्रवेश गरी आधार जमाउने प्रयास गरिरहेको स्वीकार गरेको थियो ।

राजधानी किभ नजिकै रेलमार्ग संरचना क्षतिग्रस्त भए पनि पछिल्लो आक्रमणको मुख्य असर मध्य र दक्षिणपूर्वी युक्रेनमा परेको छ । जापोरिझ्झियामा आपतकालीन सेवाले आगो निभाएका थिए भने ड्निप्रो र पाभ्लोग्राद क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो ।

यसैबीच, युक्रेनी सेनाले रूसको क्रास्नोडार र सिज्रानस्थित तेल शुद्धीकरण कारखाना आक्रमण गरेको दाबी गरेको छ । यी दुवै कारखाना यसअघि पनि लक्ष्य बनेका थिए । सेनाका अनुसार उक्त कारखानामा धेरै विस्फोट र आगलागी भएको छ, जसको वार्षिक उत्पादन क्षमता तीन मिलियन टन छ ।

क्रास्नोडारका रूसी अधिकारीहरूले पनि ड्रोन आक्रमणले कारखाना क्षतिग्रस्त भएको स्वीकार गरेका छन् । एक प्रोसेस युनिट नष्ट भएको र आगलागी भएको तर मानवीय क्षति नभएको बताएका छन् ।

रूसी रक्षा मन्त्रालयले रातभरमा २० वटा युक्रेनी ड्रोन खसालिएको, जसमा १८ वटा क्राइमियामा खसालिएको दाबी गरेको छ । रूसले २०१४ मा क्राइमिया कब्जा गरेको थियो । साथै, रूसी सेनाले डोनेट्स्कस्थित ग्रामीण बस्ती कोमिशेभाखा कब्जा गरेको जनाएको छ तर युक्रेनले यसबारे पुष्टि गरेको छैन ।

यी आक्रमणहरू अमेरिका नेतृत्वको कूटनीतिक पहलबीच भएका हुन्, जुन हालसम्म निष्क्रिय अवस्थामा छन् ।

यसैबीच, युरोपेली विदेश मामिला मन्त्रीहरू डेन्मार्कमा भेला भएर युक्रेन युद्धलगायतका विषयमा छलफल गरिरहेका छन् । छलफलमा करिब २१० अर्ब युरो (१८१.७ अर्ब पाउन्ड) बराबरको रूसी सम्पत्ति फ्रीज गर्ने प्रस्ताव पनि टेबुलमा राखिएको छ ।

ईयू विदेश नीति प्रमुख काया कालसले कूटनीतिक प्रयासका बाबजुद रूस शान्ति चाहँदैन भन्ने प्रष्ट भइसकेको बताएकी छिन् ।

फ्रान्सका विदेश मन्त्री ज्यान-नोएल बारोले यसै बैठकमार्फत् रूसविरुद्धका नयाँ प्रतिबन्ध प्रस्ताव राखिने र यस युद्धमा प्रयोग भइरहेका स्रोतहरू निस्तेज पार्ने उद्देश्य रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्