
भारतको ग्रेटर नोएडाको निक्की हत्याकाण्डमा दिनहुँ नयाँ तथ्य बाहिर आइरहेका छन् । निक्कीकी दिदी कञ्चनले घटनापछि आफू बेहोस भएकी बताएकी छन् ।
उनले निक्कीको मोबाइल कहाँ छ भन्नेबारे कुनै जानकारी नभएको जनाइन् । निक्कीले प्रयोग गर्ने पेनड्राइभको बारेमा पनि जानकारी नभएको उल्लेख गरेकी छन् ।
घटनापछि सामाजिक सञ्जालमा विभिन्न मनगढन्ते कथा फैलाइएका छन् । प्रहरीले पनि निक्कीको मोबाइल बरामदबारे मौनता अपनाएको छ । निक्की र उनकी दिदी कञ्चनले पहिला बुटिक र सौन्दर्य पार्लरको प्रचार–प्रसार गर्न इन्स्टाग्राममा भिडियो बनाउने गरेका थिए ।
निक्कीको मोबाइल महत्त्वपूर्ण प्रमाण बन्ने
आरोपी विपिनका गाउँले र आफन्तहरूले दुवै दिदीबहिनी सामाजिक सञ्जालमा सक्रिय रहेको बताउँदै आएका छन् । बुटिक सञ्चालन र इन्स्टाग्रामको कारण विपिनसँग निक्कीको मनमुटाव हुने गरेको उनीहरूको भनाइ छ । त्यसैले प्रहरीका लागि निक्कीको मोबाइल महत्त्वपूर्ण प्रमाण बन्न सक्ने अनुमान गरिएको छ।
प्रहरीले घटनास्थलबाट अहिलेसम्म थिनरको बोतल र लाइटर जस्ता सामग्री मात्र फेला परेको दाबी गरेको छ । तर, निक्कीको मोबाइल कहाँ छ भन्नेबारे प्रहरीलाई समेत जानकारी छैन । निक्कीको मोबाइलबाट आरोपी विपिनका गतिविधिबारे महत्त्वपूर्ण सुराकी भेटिन सक्ने अनुमान गरिएको छ ।
कयौं युवतीसँग सम्पर्कमा थिए विपिन
निक्कीका परिवारले विपिन अन्य युवतीहरूसँग पनि सम्पर्कमा रहेको आरोप लगाएका छन् । अधिकारीहरू भने यसबारे खुलेर बोल्न तयार छैनन् ।
निक्कीले मृत्युअघि अस्पतालमा दिएको बयान आरोपितलाई कारबाही गर्न महत्त्वपूर्ण प्रमाण हुने भएकाले प्रहरीले ती अभिव्यक्ति, फोर्टिस अस्पतालका चिकित्सकको बयान र अस्पतालले दिएको मेमोका आधारमा अनुसन्धान अघि बढाइरहेको छ ।
२१ अगस्टमा सिरसा गाउँस्थित घरमा जलेपछि साँझ करिब ६ बजे निक्कीलाई फोर्टिस अस्पताल पुर्याइएको थियो । उनलाई विपिनका भाइ देविन्द्रले अस्पताल पुर्याएका थिए ।
जिल्ला सरकारी वकिल ब्रह्मजीत भाटीका अनुसार अहिलेसम्म आरोपितहरूले जिल्ला अदालतमा जमानतका लागि निवेदन दिएका छैनन् । कोतवाली इन्चार्ज धर्मेन्द्र शुक्लाले अनुसन्धान जारी रहेको जनाएका छन् ।
सोसल मिडिया भिडियोले बढायो उल्झन
घटनासँग सम्बन्धित भन्दै एक भिडियो सार्वजनिक भएको छ, जसमा विपिन अत्तालिएको देखिन्छ । अर्को भिडियो भने विपिनका आफन्तहरूले सार्वजनिक गरेका छन्, जसमा विपिन गाडी धुँदै गरेको देखिन्छ । यी भिडियोहरू प्रहरी अनुसन्धानका लागि चुनौती बनेका छन् ।

विपिनका परिवारले भनेका छन्- निक्कीलाई घरबाट अस्पताल लैजाने गाडीमा निक्कीका साथै सासु दया, ससुरा सतवीर र देवर देविन्द्र पनि थिए । अस्पतालमा पुगेपछि डाक्टर र नर्सले निक्कीलाई हेरेका थिए । उनीहरूले सोध्दा निक्कीले घरमा ग्यासको सिलिन्डर विस्फोट हुँदा जलेको बताएकी थिइन् । प्रहरीले ती डाक्टर र नर्सका बयान पनि दर्ता गरेको छ ।
आरोपीका परिवारले जमानतका लागि आवश्यक कागजात तयार पार्दै अधिवक्तालाई पेनड्राइभमा घटनाको सीसीटिभी फुटेज उपलब्ध गराएका छन् । उनीहरूले घटनाको समयमा विपिन घरबाहिर रहेको दाबी गरेका छन् ।
३५ लाख दाइजो मागिएको आरोप
दादरीको रूपवास गाउँकी निक्कीको विवाह २७ डिसेम्बर २०१६ मा सिरसाका विपिनसँग भएको थियो । निक्कीकी दिदी कञ्चन पनि विपिनका दाइसँग विवाह भएकी हुन् ।
निक्कीका बुबा भिखारी सिंहले विपिनको परिवारले ३५ लाख रूपैयाँ दाइजोको माग गर्दै निक्कीलाई निरन्तर सताउने गरेको र अन्ततः २१ अगस्टमा विपिनले आमासँग मिलेर जीवितै जलाएको आरोप लगाएका छन् । गम्भीर रूपमा जलेपछि अस्पताल पुर्याइएकी निक्कीले उपचारकै क्रममा ज्यान गुमाइन् ।
यस घटनामा संलग्न आरोपमा निक्कीका ससुरा, सासु, जेठाजु र विपिन पक्राउ परिसकेका छन् ।