०३ साउन २०८३, आइतबार

भीएआरमा समस्या देखिएको खेलमा साविक विजेता बार्सिलोनाले कमजोर प्रतिद्वन्द्वीसँग अंक बाँड्यो

भदौ १६, २०८२
काठमाडौं
भीएआरमा समस्या देखिएको खेलमा साविक विजेता बार्सिलोनाले कमजोर प्रतिद्वन्द्वीसँग अंक बाँड्यो

तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी रायो भालेकानोले स्पेनिस ला लिगाअन्तर्गतको खेलमा उत्कृष्ट पुनरागमन गर्दै साविक विजेता बार्सिलोनालाई बराबरीमा रोकेको छ । रायो भालेकानो र बार्सिलोनाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

जारी सिजनको ला लिगामा बार्सिलोनाले पहिलोपटक अंक बाँडेको हो । बार्सिलोना यसअघि लगातार दुई खेलमा विजयी भएको थियो । रायो भालेकानोको घरेलु मैदानमा खेलिएको उक्त खेलमा शुरूआती अग्रता बार्सिलोनाले लिएको थियो ।

निर्धारित समयको ४०औँ मिनेटमा बार्सिलोनाका लागि प्रतिभाशाली किशोर खेलाडी लामिन यामलले गोल गरेका थिए । १८ वर्षीय यामलले पेनाल्टीमार्फत् गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सोही गोलका कारण पहिलो हाफमा बार्सिलोना अगाडि रह्यो ।

तर, खेलको दोस्रो हाफमा रायो भालेकानोले जवाफी गोल फर्कायो । निर्धारित समयको ६७औँ मिनेटमा रायो भालेकानोका लागि फ्रान पेरेजले जवाफी गोल गरेका हुन् । उक्त खेलमा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिमा पनि समस्या देखिएको थियो ।

रायो भालेकानोका डिफेन्डर पेप चाभारियाले फल खेलेका कारण बार्सिलोनाले पेनाल्टी प्रहारको अवसर पाएको थियो । यसमा केही विवाद पनि देखिएको थियो । तर, भीएआर प्रविधिमा समस्या देखिएकाले त्यसको रिप्ले भने हेर्न सकिएन ।

जारी सिजनको ला लिगामा सबै टोलीले तीन–तीन खेल खेलिसक्दा रियल म्याड्रिड नौ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । समान अंक बटुलेको एथलेटिक क्लब दोस्रो र सात अंकसहित भिल्लारियल तेस्रो स्थानमा छन् ।

यसैगरी, सात अंक जोडेको बार्सिलोना चौथो स्थानमा आसिन छ । एक जित, एक बराबरी र एक हारको नतिजाबाट चार अंक जोडेको रायो भालेकानो तालिकाको १०औँ स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्