काठमाडौं, २७ मंसिर- नेपालस्थित इन्टरनेसनल मनी एक्सप्रेस आइएमइ र भारतको मुथुत फाइनान्सवीच रेमिट्यान्स सम्झौता भएको छ । मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रवन्धक आर.के. बिजिमोन र आइएमई लिमिटेडका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गत आइतवार पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, मुथुत फाइनान्स इण्डो–नेपाल रेमिट्यान्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ ।