०६ साउन २०८३, बुधबार

कतारको राजधानी दोहामा इजरायली आक्रमण, हमासका नेता बालबाल बँचे

भदौ २५, २०८२
काठमाडौं
कतारको राजधानी दोहामा इजरायली आक्रमण, हमासका नेता बालबाल बँचे

कतारको राजधानी दोहामा इजरायलले आक्रमण गरेको छ । इजरायली सेनाले हमासका वरिष्ठ नेताहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आक्रमण हमास प्रमुख खलील अल–हयालाई लक्षित गरी गरिएको थियो । मिडिया रिपोर्टका अनुसार, अल–हया आक्रमणबाट बाँचे, जबकि अन्य ६ जनाको मृत्यु भएको छ । 

हमास नेताहरू आपसमा अमेरिकी युद्धविराम प्रस्तावबारे छलफल गरिरहेका बेला यो आक्रमण भएको हो । इजरायली प्रधानमन्त्री नेतान्याहूले आक्रमणको पूर्ण जिम्मेवारी लिने बताएका छन् । 

इजरायली सेना र सुरक्षा एजेन्सीले लामो समयदेखि संगठनको गतिविधि सञ्चालन गरिरहेका हमास नेताहरूमाथि यो आक्रमण ठूलो सटीकताका साथ गरिएको बताएको छ।

एसोसिएटेड प्रेससँग कुरा गर्दै, एक इजरायली अधिकारीले आक्रमण कतारको राजधानी दोहामा भएको पुष्टि गरे । सेनाका अनुसार, यी हमास नेताहरू ७ अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको प्रत्यक्ष जिम्मेवार थिए ।

कतार लामो समयदेखि निर्वासित हमास नेताहरूको लुक्ने ठाउँ रहेको छ र इजरायल र प्यालेस्टाइनबीच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ। यो आक्रमणले गाजामा युद्धविराम र अक्टोबर ७ मा हमास बन्धकहरूको रिहाइको सम्बन्धमा भइरहेको वार्तालाई अझ जटिल बनाउने विश्लेषण भैरहेको छ । 

आक्रमणपछि कतारले इजरायलको कडा आलोचना गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले यसलाई हमासको राजनीतिक मुख्यालयमा कायरतापूर्ण आक्रमण भनेका छन् । यसले सबै अन्तर्राष्ट्रिय कानून र मान्यताहरूको उल्लंघन गरेको उनले बताए।

कमेन्ट गर्नुहोस्