काठमाडौं, २९ मंसिर — नेकपा एमाले अध्यक्ष केपी ओली नेपालको प्रधानमन्त्री बन्ने सम्भावना प्रबल भएपछि भारतको चेत खुलेको विश्लेषण भइरहेको छ ।
भारतको दैनिक पत्रिका दी इकोनोमिक टाइम्सको अन्लाइन संस्करणमा शुक्रवार दीपाञ्जन रोय चौधरीको बाइलाइनमा प्रकाशित एक रिपोर्टअनुसार, भारतले नेपालका विकास निर्माण परियोजना, सम्पर्क पहलकदमी, सीमापार सुरक्षा चुनौती लगायतका विषयमा सहभागिता बढाउने निर्णय लिएको छ ।
चीनसमर्थक मानिने केपी ओली प्रधानमन्त्री हुने सम्भावनाका कारण भारतले यसो गर्न लागेको चौधरी लेख्छन् ।
नरेन्द्र मोदीको सरकारले नेपालको नयाँ सरकारसँग विस्तृत संलग्नताको रणनीति बनाउँदा मात्र नेपालमा आफ्नो हित सुरक्षित हुने र नेपालमा चीनको प्रभावका बीच पनि आफ्नो हित हुने देखेको नेपाल भारत सम्बन्धका जानकारहरू बताउँछन् भनी रिपोर्टमा लेखिएको छ ।
रिपोर्टमा थप भनिएको छ :
यससँगै दुई छिमेकीबीचको गहिरो सामाजिक–सांस्कृतिक–धार्मिक सम्बन्धका कारण दिल्ली र काठमाडौंबीचको विशेष नातालाई कायम राख्ने आशा गरिएको छ ।
‘विगत १६ महिनामा द्विपक्षीय सम्बन्धको गतिलाई कायम राख्नुपर्छ भन्ने सोच हो । ओली लगायत तीन प्रधानमन्त्रीले अनि राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको भ्रमण गरिसकेका छन् । गत वर्ष भारतका राष्ट्रपतिले नेपालको भ्रमण गरेका थिए ।’
‘चीनले प्रभाव बढाएको भएपनि नेपालमा भारत एक महत्त्वपूर्ण खेलाडी हो । सार्वभौम मुलुकका रूपमा स्वतन्त्र विदेशनीति अपनाउने नेपालको अधिकार नै हो । अनि आफ्नो हित सुरक्षित पार्नका लागि भारतले मैत्रीपूर्ण सम्बन्ध कायम राख्नुपर्छ ।’
‘भारतले ओली र उनका माओवादी साझेदारहरूसँग नजिकै रहेर विगतमा काम गरिसकेको छ र अहिलेको नेतृत्व दिल्लीसँग परिचित छ,’ नाम नबताउने शर्तमा एक नेपालविज्ञले भने ।
अगस्ट महिनामा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण गर्दा भारतले सडक परियोजना तथा विकास निर्माण पहलकदमीमा सहायता गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । दुई देशले विभिन्न क्षेत्रमा आठवटा सम्झौता गरेका थिए जसमध्ये चारवटा भूकम्पपछिको पुनर्निर्माण परियोजना थिए । त्यस भ्रमणका बेलामा देउवा र मोदीले संयुक्त रूपमा रक्सौल–परवानीपुर र कुशा–कटैया अन्तर्देशीय ट्रान्समिसन लाइनको उद्घाटन गरेका थिए ।
यसपछि नेपाललाई जाडोमा थप सय मेगावाट बिजुली आपूर्ति गरिनेछ जसकारण नेपालमा बिजुलीको थप माग सम्बोधन हुनेछ । नेपाल भारतसँग सुरक्षा सम्बन्ध विस्तार गर्न इच्छुक छन् । नेपालसँग ऊर्जा साझेदारी विस्तार गर्न पनि दिल्लीले विचार गर्न सक्छ । यसबाहेक नेपालको पश्चिमी भागलाई उत्तराञ्चलसँग सम्पर्क गराउने काम पनि भारतले गर्दैछ ।
ओलीले अघिल्लो कार्यकालमा राष्ट्रवादको नारा उचालेका थिए । तर उनी व्यावहारिक राजनीतिज्ञ हुन् । कुनै समयमा उनी नेपाली कम्युनिस्टहरूमध्ये भारतका सबभन्दा ठूला समर्थक थिए र उनले दिल्लीसँग भविष्यमा पनि काम गर्ने अपेक्षा गरिन्छ ।