३१ असार २०८३, बुधबार

भारतीय कांग्रेसको कार्यभार राहुलको काँधमा, मोदीलाई जित्न सक्लान् ?

भारतीय कांग्रेसको कार्यभार राहुलको काँधमा, मोदीलाई जित्न सक्लान् ?

नयाँदिल्ली, १ पुस– भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको अध्यक्षको जिम्मेबारी उपाध्यक्ष राहुल गान्धीले शनिबार ग्रहण गरेका छन् । 

गत १९ बर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना छोरा राहुललाई पार्टी अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । 

उनले शुक्रबार सक्रिय र पदीय राजनीतिबाट बाहिर बस्ने भन्दै राजनीतिक अवकाशको घोषणा गरेकी थिइन् । 

भारतको निकै पुरानो पार्टी काँग्रेसमा सोनियाले अबदेखि कुनै पनि कार्यकारी जिम्मेवारी नलिने बताएकी थिइन् । 

काँग्रेसको सबैभन्दा माथिल्लो पदका लागि पाँच दिन पहिले भएको निर्वाचनमा राहुलबाहेक कसैले पनि उम्मेदवारी नदिएपछि राहुललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । 

राहुलका पिता राजीव गान्धी भारतका प्रधानमन्त्री थिए । पत्रकारितामा सक्रिय रहेका फिरोज गान्धीले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुकी पुत्री इन्दिरासँग विवाह गरेपछि गान्धी परिवार
 भारतीय राजनीतिमा उदाएको थियो । इन्दिरा गान्धी भारतकी पहिलो र अहिलेसम्मकै एकमात्र महिला प्रधानमन्त्री हुन् । राहुलका पिता राजीव आफ्नी आमा इन्दिराको गोली हानी हत्या गरिएपछि भारतको प्रधानमन्त्री चयन भएका थिए । 

राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकोमा अहिले अध्यक्ष बनाइएको हो । गत तीन वर्षदेखि पार्टीको सक्रिय भूमिकामा रहेकाले राहुलले अब पार्टीको मुख्य नेतृत्वदायी भूमिका लिनसक्ने सोनियाको दाबी छ । 

भारतीय काँग्रेसका कार्यकर्ताहरूले राहुलले पार्टी अध्यक्षको जिम्मेबारी सम्हालेपछि उनको समर्थनमा नाराबाजी गरेका थिए । उनीहरुले राहुल जिन्दावाद, राहुल गान्धी अमर रहुन्, लगायतका नारा लगाएका थिए । 

४७ वर्षीय राहुलले अध्यक्ष भएपछि अव पार्टीलाई प्रभावकारी बनाउने विश्वास धेरैले गरेपनि कतिपयले भने संशय व्यक्त गरेका छन् । 

यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो । 

सोनीय अध्यक्ष भएकै बेला अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले काँग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो । 

भारतका पुर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीकी पत्नी सोनिया गान्धी गत तीन वर्षदेखि बिरामी भएपछि पटकपटक अस्पताल भर्ना भएर उपचार गराइरहनुभएको छ । 


बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्