काठमाडौं, ५ पुस — नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएपछि छिमेकी मुलुक चीनको मुखपत्र मानिने ग्लोबल टाइम्समा झाङ शुबिनको एक विश्लेषण मंगलवार प्रकाशित भएको छ ।
विश्लेषणको भावानुवाद यसप्रकार छ :
नेपाली जनताले राजनीतिक अस्थिरताको अन्त्य भएर स्थिरता तथा समृद्धिको युग शुरु भएको देख्न चाहेको लामो समय भइसकेको छ । उनीहरूले स्थानीय, संघीय तथा प्रादेशिक चुनावबाट बन्ने सरकारमा ठूलो आशा राखेका छन् ।
स्थानीय निर्वाचनमा ७५ प्रतिशत मतदान भयो भने संघीय र प्रादेशिक निर्वाचनमा लगभग ७० प्रतिशत मत खस्यो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ३ अक्टोबरमा चुनावी गठबन्धन बनाएर स्थिरतामार्फत समृद्धिको नाराका साथ चुनाव लडेका थिए । मतदाताहरूको आकांक्षालाई चुनावी अभियानको प्राथमिकतामा राखेकाले एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले निर्वाचनमा ‘क्लीन स्वीप’ गर्न सफल भयो ।
एमाले र माओवादीले एकीकृत कम्युनिस्ट पार्टी बनाउने र पार्टीको सरकार बनाउने घोषणा गरेका छन् । एमाले अध्यक्ष खड्ग प्रसाद ओली प्रधानमन्त्री बन्ने पक्का छ जबकि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ पार्टीका अध्यक्ष हुन सक्छन् । त्यसैले कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्ने रूपरेखा कोरिँदैछ ।
ओली आफ्नो लक्ष्यमा प्रस्ट छन् । निर्वाचनमा विजय प्राप्त गरेपछि झापामा बोल्दै उनले सुशासन, रोजगार र विकास नै नयाँ सरकारको प्राथमिकता हुने बताए ।
चीनले अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अपनाएको छ । भारतीय सञ्चारमाध्यमहरूले नेपालमा वाम गठबन्धन बनाउन बेइजिङले भूमिका खेलेको भनी दुष्प्रचार गरे । यस्तो आरोप चीनविरुद्धको बेइज्जती प्रयत्न हो र यसैले सत्तारूढ नेपाली कांग्रेस सरकारलाई चीनसँग भएको जलविद्युत् सम्झौता रद्द गर्न तथा चीनको हित र अधिकार हनन गर्न बहाना प्राप्त भयो ।
वाम गठबन्धन कुनै बाह्य शक्तिको नभई दुई कम्युनिस्ट पार्टीको आवश्यकता पूरा गर्नका लागि बनेको हो । एमालेले सत्तामा फर्किने लक्ष्य लिएको थियो अनि माओवादी केन्द्र चाहिँ स्थानीय निर्वाचनमा कम मत पाएर खुम्चिएको थियो । एमालेले स्थानीय निर्वाचनमा शानदार विजय प्राप्त गरेकाले माओवादी केन्द्रसँग ६०ः४० को अनुपातमा सीट बाँडफाँट गर्न तयार भयो ।
एमालेले देशको हितका लागि काम गरेको भनी नेपाली जनताले प्रस्ट बुझेका छन् । एमाले र माओवादी केन्द्रले एकअर्कालाई प्रतिनिधिसभा र प्रादेशिक सभाका दुई चरणका निर्वाचनमा सहायता गरे । अहिले निर्वाचन परिणाम हेर्दा वाम गठबन्धन दुवै दलका लागि सही निर्णय भएको प्रस्ट हुन्छ । अझ, एमालेले प्रदेश नम्बर २ मा एक मधेशी उम्मेदवारलाई उनको कांग्रेसी प्रतिद्वन्द्वीलाई हराउन सहयोग पनि ग–यो ।
नेपालले अन्य देशसँग स्वतन्त्रतापूर्वक व्यवहार गर्नु महत्त्वपूर्ण छ । नेपाली नेताहरू सबभन्दा पहिले नेपालपरस्त हुनुपर्छ र उनीहरू चीन वा भारत कार्ड खेल्नतिर लाग्नुहुँदैन । दुई विशाल छिमेकीबीचको सन्तुलनले मात्र नेपाललाई राष्ट्रिय हित प्रवर्द्धनमा सहायता गर्छ ।
निर्वाचनमा नेपाली कांग्रेसको पराजयका पछाडि उसले जनताका चासोमा ध्यान दिन नसक्नु कारण हो । पार्टीभित्रको आन्तरिक किचलो, चरम भारतपरस्तता तथा चीनसँगको जलविद्युत् सम्झौता रद्द गर्नु उसले निर्वाचनमा हार्ने कारणहरू हुन् ।
भारतले अतिवादी चिन्तन त्यागेर नेपालको विकासका लागि चीनसँग मिल्नु जरूरी छ । नेपालले संविधान जारी गरेपछि नयाँ दिल्लीले लगाएको आर्थिक नाकाबन्दीले एमालेलाई निर्वाचनमा सशक्त विजय दिलाउनमा योगदान ग–यो ।
ओलीले गत वर्ष नाकाबन्दीपछि चीनको भ्रमण गरेर सहकार्य गर्ने सम्झौताहरू गरेकाले व्यापक समर्थन हासिल गरेका हुन् ।
यसको विपरीत भारतले कांग्रेस र माओवादी केन्द्रसँग मिलेर ओली सरकारलाई सत्ताच्युत गर्नु प्रत्युत्पादक रह्यो र एमालेको सम्मान झन् बढायो । भारतीय नाकाबन्दीले नेपालीमा दीर्घकालीन मनोवैज्ञानिक असर पारेको छ ।
नेपालको मित्रराष्ट्रका रूपमा चीन उसको विकासका लागि सदैव तयार छ । ओली नेतृत्वको सरकारले केरुङ–काठमाडौं रेल्वे निर्माण, अरनिको र स्याफ्रुबेंसी–रसुवागढी राजमार्ग स्तरोन्नति, खासा र तातोपानी नाका पुनः सञ्चालन तथा केरुङ र पुराङ सुक्खा बन्दरगाह निर्माणलाई गति दिने अपेक्षा गर्न सकिन्छ । अनि व्यापार तथा लगानी, भूकम्पपश्चात् पुनर्निर्माण, ऊर्जा तथा पर्यटनमा द्विपक्षीय साझेदारीले नेपाललाई स्थिरतामार्फत समृद्धिको बाटोमा तीव्र गतिमा डोहो–याउनेछ ।