
काठमाडौं, ५ पुस– काठमाडौंको टोखा नगरपालिका–१ झोर नजिकै जंगल छेउमा गोली चलाउने ४ जना युवक भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
बुधवार मध्याह्न टोखामा गोली चलेको थियो । शिवपुरी निकुञ्ज क्षेत्र रहेको झोरमा चलेको गोली लागेर एक महिला घाइते भएकी छन् ।
निकुञ्ज छेउमा घाँस काट्न गएकी दूर्गा दुलाललाई गोली लागेको हो । उनको अहिले धापासीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । गोली लागेकी दूर्गाको अवस्था खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।
बन्दुकसहित पक्राउ पर्नेमा १९ वर्षिय सुनिल तामाङ, १४ वर्षीय सुशान्त तामाङ, १८ वर्षिय अंकित तामाङ र १७ वर्षिय विजय तामाङ छन् । उनीहरुलाई पक्राउ गरेर महानगरीय प्रहरी प्रभाग महाराजगन्जमा राखिएको छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवाले गोली चलाउने प्रयास गर्दा महिलालाई लागेको बयान दिएका छन् । प्रहरीले भने मृगलाई गोली हान्ने क्रममा महिलालाई लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार ४ जना युवक भरुवा बन्दुक लिएर मृगको शिकार गर्न भनेर घरबाट निस्किएका थिए ।
गोली चलेको उक्त क्षेत्र शिवपुरी निकुञ्ज भित्र पर्छ । जहाँ २४ सै घण्टा नेपाली सेनाको कडा सुरक्षा व्यवस्था हुन्छ ।