१० असार २०८३, बुधबार

बुधबार दिनभर : राष्ट्रपतिको सुझावदेखि सिलवालविरुद्ध कीर्ते जाहेरी दर्तासम्म

बुधबार दिनभर : राष्ट्रपतिको सुझावदेखि सिलवालविरुद्ध कीर्ते जाहेरी दर्तासम्म

काठमाडौं, ६ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले वाम गठबन्धनका नेताहरुलाई अध्यादेश सम्बन्धी विवाद राजनीतिक सहमतिमै जुटाउन आग्रह गरेकीछन् । बुधबार बिहान वाम गठबन्धनका एमाले अध्यक्ष केपी शर्मा ओली र मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतालाई राष्ट्रपति भण्डारीले सहमतिमै अघि बढ्न सुझाव दिएकी हुन् । 

राष्ट्रपतिसँगको भेटपछि ओली र प्रचण्डले प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवलाई भेटेर तत्काल निर्वाचन परिणाम पेश गर्न भनेका छन् ।  आयोगले परिणाम सार्वजनिक नगर्दा सरकार गठनलगायतका विषय रोकिएका छन् भने राष्ट्रियसभा गठन अध्यादेश पनि राष्ट्रपति कार्यालयमा अड्केको छ ।

ग्यास उद्योगमा आगलागी– पर्साको वीरगञ्जस्थित सुपर ग्यास उद्योगमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु हुनुका साथै करोडौंको क्षति भएको छ । तीन जना घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रशासनले जनाएको छ । बुधबार भएको भीषण आगलागीका कारण भएको क्षतिको एकिन बिबरण नआए पनि करिब ४ करोड बराबर क्षति भएको अनुमान गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आगलागीमा परी उद्योग परिसरमा रहेका ४ वटा भारतीय ग्यास बुलेट, २ वटा नेपाली ट्रक, १ वटा दमकलमा क्षति पुगेको छ ।

सिलवालविरुद्ध मुद्दा दर्ता– नेपाल प्रहरीका पूर्व नायव महानीरिक्षक (डिआइजी) नवराज सिलवालविरुद्ध कीर्ते जाहेरी दर्ता भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा सिलवालविरुद्ध कीर्ते जाहेरी दर्ता भएको हो । 
सिलवालविरूद्ध सरकारले प्रहरीमा जाहेरी दर्ता गरेको हो । कीर्ते जाहेरी दर्ता भएसँगै नेकपा एमालेबाट हालै चुनाव जितेका सिलवाल फरार अभियुक्त दर्ज भएका छन् । सिलवालविरुद्धको अभियोग प्रमाणित भएमा उनको संसद पद गुम्ने छ । 

नयाँ सरकारपछि अध्यादेश– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेश संविधानविपरीत भएकाले जारी हुन सम्भव नरहेको बताएका छन् । वाम गठबन्धनले बुधबार काठमाडौँमा गरेको कार्यक्रममा उनले बहुमतीय प्रणालीबाट राष्ट्रियसभा गठन हुने भनी संसदीय समितिबाट समेत पारित भइसकेको विधेयकलाई लत्याएर वर्तमान सरकारले आफूखुशी एकल संक्रमणीय प्रणालीको व्यवस्था गरी पेस गरेको अध्यादेश जारी हुन सम्भव नरहेको दाबी गरे ।


एसइई परीक्षा चैतमा– परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको बैठकले बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 


संयोजन समितिको बैठक– वाम गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । शीर्ष नेता सम्मिलित समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 


कर्मचारीको विवरण तयार– सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको छ । अहिले प्रदेश सरकार सञ्चालनका लागि अस्थायी व्यवस्थापन गरी कर्मचारीको विवरण तयार पारिएको हो । पछि कर्मचारी समायोजन भएपछि स्थायी रुपमा नै ती प्रदेशका मन्त्रालयमा कर्मचारी पठाइनेछ । 

    
मृगले झुक्कायो– काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग ठानेर चलाएको गोली लागेर झोरकी ३५ वर्षीया दुर्गा दुलाललाई लागेको छ । बुधबार दिउँसो शिकार खेल्न गएका चासेडाँडाका युवकहरुको एक समूहले झोरको जंगलमा मृग ठानेर गोली चलाउँदा गोली लागेर घाइते भएकी उनको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा उपाचार भइरहेको छ । प्रहरी गोली चलाउनेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–१ बस्ने सुनिल तामाङ, सुसान तामाङ, विजय तामाङ र अंकित तामाङ छन् ।

सगरमाथाको उचाइ मापन गरिँदै– नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । नापी विभागले बुधबार पत्रकार सम्मेलन गरी १२ वटा बिन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको जानकारी दिएको हो । यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो । 

विदेशका खवर–  अमेरिकाले तीन दशकभन्दा लामो समयपछि त्यहाँको कर प्रणालीमा फेरबदल गरेको छ । रिपब्लिकन नियन्त्रित संसदको दुवै सदनबाट विधेयक पारित गरिएको हो । कर प्रणालीमा उल्लेख्य सुधार ल्याउने दाबी गरिएको विधेयक पारित हुनु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि पहिलो महत्वपूर्ण उपलब्धि मानिएको छ ।


खेल खबर– एभरेष्ट प्रिमियर लिग ईपीएलमा भैरहवा ग्लाडिएटर्सले विजयी सुरुवात गर्दा काठमाडौं किंग्स एलेभेनले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार भएको दोस्रो खेलमा भैरहवाले काठमाडौंलाई ७ विकेटले पराजित गरेको हो । 
अर्को खेलमा विराटनगर वरियर्सले लगातार दुई खेलमा जित निकालेको छ । त्रिवि मैदानमा भएको खेलमा पोखरा राईनोजलाई ३ विकेटले हराउदै विराटनगरले दोस्रो जित हासिल गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्