
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संविधानत: संसद् विघटन गर्ने र संसद् बाहिरबाट प्रधानमन्त्री बनाउने ठाउँ नरहेको बताएका छन् । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगजनी भएको कोशी प्रदेशसभा भवनको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
उनले वर्तमान राजनीतिक घटनाक्रम न्यायालयमा पुगेको उल्लेख गर्दै त्यहाँबाट सही निरूपण हुने र संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरे । ‘संविधानत: संसद् भङ्ग गर्ने ठाउँ छैन र संसद्भन्दा बाहिरबाट प्रधानमन्त्री बनाउने पनि ठाउँ छैन । विषय न्यायालयमा गएको छ । हामी आशावादी छौँ, न्याय ठीक ढङ्गबाट हुँदाखेरि संसद् पुनर्स्थापना भएर जान्छ,’ उनले भने ।
त्यसपछि तपाईंले नेकपा एमालेकै भाषा बोल्नुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले ‘सत्य कुरा बोल्दा कसैसँग मिल्न गएमा आपत्ति मान्न नहुने’ जवाफ दिए । ‘कसको भाषा बोल्यो भन्ने कुरा होइन, के बोल्यो भन्ने मुख्य कुरा हो । सही कुरा बोल्दा त्यो कसैसँग मिल्न पनि सक्छ, नमिल्न पनि सक्छ । कुरा मिल्दैमा आपत्ति हुनुपर्ने केही छैन ।’
एमालेले पनि संसद् विघटन असंवैधानिक भन्दै पुनःस्थापनाको माग गर्दै आएको छ । घिमिरेले पनि प्रतिनिधि सभा विघटनको विरोध गर्दै आइरहेका छन् । घिमिरे एमालेबाटै सभामुख भएका हुन् । यद्यपि, सभामुख भएपछि उनले दलीय आवद्धता त्यागेका थिए ।
सभामुख घिमिरेले कोशी प्रदेशसभामा भएको क्षति दु:खद् भएको र यसको पुनर्निर्माण तथा सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

सभामुख घिमिरेले प्रदेश सभा जानुअघि विराटनगरमा एमालेका कार्यकर्तासँग भेटघाट गरेका थिए ।
गत भदौ २३ र २४ गते कोशी प्रदेशमा ‘जेनजी’ आन्दोलनका क्रममा कोशी प्रदेशसभा भवनमा आगजनी र तोडफोड गरिएको थियो । प्रदेशसभा सचिवालय रहेको जिल्ला समन्वय समितिको भवन र प्रदेशसभा भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीले पूर्ण रूपमा नष्ट भएको थियो । हाल प्रदेशसभा सचिवालय कटहरी गाउँपालिकाको तरकारी बजारमा सारिएको छ ।
आगजनी भएयता प्रदेशसभाको बैठक बस्न सकेको छैन । अगाजनीबाट भएको क्षतिबारे कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले प्रतिनिधि सभाका सभामुख घिमिरेलाई जानकारी गराएका थिए ।