
काठमाडौं, ६ पुस– म्यानमारले रखाइन प्रान्तमा रोहिंग्या मुसलमानमाथि भएको भनिएको अत्याचार र दमनको अनुसन्धान गर्न आगामी जनवरीमा म्यानमार जाने तयारीमा रहेकी संयुक्त राष्ट्र संघकी विशेष दूत याङ्ही लीलाई मुलुकभित्र प्रवेश गर्न रोक लगाएको छ ।
याङ्हीले म्यानमार सरकारले आफूलाई रखाइन प्रान्तमा जाने अनुमति नदिएको बताएकी छिन् । याङ्हीले यसअघि गत जुलाईमा म्यानमारको भ्रमण गरेकी थिइन् । गत अगष्टमा रखाइन प्रान्तको एक प्रहरी चौकीमाथि रोहिंग्या चरमपन्थीले हमला गरेपछि सेनाले कारबाही गर्दा हिंसा भड्किएको थियो ।
त्यसपछि साढे ६ लाख रोहिंग्या मुसलमान बंगलादेश पलायन भइसकेका छन् । (एजेन्सी)