
काठमाडौं, ६ पुस — भारतको राजधानी नयाँ दिल्लीको उत्तरी भागमा रहेको आध्यात्मिक विश्वविद्यालयमा युवती तथा महिलाहरूलाई बन्धक बनाएर राख्ने गरिएको रहस्य खुलेको छ ।
दिल्ली उच्च अदालतले मंगलवार यस विषयमा सीबीआई अनुसन्धान गर्नू भनी आदेश दिएको छ । भगवानको उपदेश दिने बहानामा युवतीहरूलाई बन्धक बनाइएको भेटियो ।
उच्च अदालतले गठन गरेको अनुसन्धान टोलीले विश्वविद्यालयमा महिलाहरूमाथि कुटपिट हुने गरेको अनि उनीहरूलाई नुहाउँदाखेरी पनि गोप्यता राख्न नदिइएको बतायो । सयजना जति महिलालाई यसरी बन्दी बनाइएको टोलीले पायो ।
एक पीडित महिलाले राम रहीमको आश्रमभन्दा पनि खराब स्थिति यहाँको रहेको बताइन् ।
आश्रममा लामो समय अनुयायी बनेर बसेकी अर्की पीडितले त्यहाँका बाबाले आफूलाई ईश्वर बताउने गरेको र तन मन धन सबै ईश्वरको नाममा समर्पित गर्न भन्ने गरेका छन् ।
आश्रममा आउने अनुयायीको ब्रेन वाश गर्ने गरिएको उनी बताउँछिन् । आफ्ना चार छोरी आश्रममा रहेको उनको भनाइ छ ।
एक छोरीले त आफूमाथि बाबाले बलात्कार नै गरेको बताइन् । आश्रममा सयौं महिला रहेका र कतिखेर को आउँछ थाहै नहुने उनी बताउँछिन् ।
प्रहरीले त्यस ठाउँमा छापा मार्दा केही वृद्धा महिलाहरूले त्यहाँ केही पनि गलत काम नभएको बताइन् ।
दिल्ली उच्च अदालतले आध्यात्मिक विश्वविद्यालय तथा त्यसका संस्थापक वीरेन्द्र देव दीक्षितविरुद्ध सीबीआई जाँचको आदेश दिएको छ । अदालतले विश्वविद्यालय सेक्स जेलका रूपमा रहेको र त्यहाँ वर्षौंदेखि महिला र
नाबालिकाहरूमाथि बलात्कार हुने गरेको पायो । उनीहरूलाई जनावर जस्तो गरी राखेको र बारम्बार बलात्कार गर्ने गरिएको पाइयो ।
वीरेन्द्र देवको आश्रम किल्ला जस्तो छ । पर्खालहरु अग्ला छन् अनि त्यसमा तारजाली लगाइएको छ ।
अदालतले गठन गरेको अनुसन्धान टोलीका सदस्यलाई आश्रमवासीहरूले कुटपिट समेत गरेका थिए । त्यसपछि अदालतले तत्कालै सीबीआई निर्देशकलाई बोलाएर यसको जाँच गर्ने आदेश दिएको थियो ।
फाउन्डेसन फर सोसियल इम्पावरमेन्ट नामक एनजीओले वीरेन्द्र दीक्षित यस मामिलामा दोषी रहेको भन्दै अदालतमा मुद्दा दायर गरेको थियो । एनजीओका अनुसार, नाबालिकाहरूलाई मातापितासँग भेट्ने अनुमति छैन । लगभग
१४ वर्षदेखि यहाँ महिलाहरू बन्धक बनाइएका छन् ।
एनजीओले एक किशोरीलाई अदालतसमक्ष पेश गर्दै ऊ त्यहाँबाट भागेर आउन सफल भएको दाबी ग–यो । विश्वविद्यालयमा कैयौं महिलाले आत्महत्या गरेको तर प्रहरीले वास्ता नगरेको एनजीओको आरोप छ ।
नवभारत टाइम्सबाट