
काठमाडौं, ६ पुस — दक्षिण एसियाली मुलुक माल्दिभ्सको प्रमुख पत्रिकामा भारतविरोधी सम्पादकीय छापिएपछि राजनीतिक हंगामा मच्चिएको छ । सम्पादकीयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कट्टर हिन्दूवादी भएको बताउँदै मुस्लिमविरोधी नेता भनिएको छ ।
स्थानीय धिवेही भाषामा निस्कने पत्रिकामा भारतलाई सबैभन्दा ठूलो दुश्मन बताउँदै चीनलाई नयाँ बेस्ट फ्रेन्डको संज्ञा दिइएको छ ।
राष्ट्रपति अब्दुल्ला यमीनको दलको मुखपत्र मानिने उक्त पत्रिकाले यमीन सरकारविरुद्ध सैन्य कू गर्ने षड्यन्त्र भारतले रचेको अनि कश्मीर तथा श्रीलंकामा अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको आरोप लगाएको छ ।
माल्दिभ्स डेमोक्रेटिक पार्टीको नेतृत्वमा विपक्षी दलहरूले सम्पादकीयविरुद्ध प्रदर्शन गर्दै राष्ट्रपति यमीनको विरोध गरेका छन् । अखबार राष्ट्रपतिको मुखपत्र भएको अनि यसको सम्पादकीय राष्ट्रपति कार्यालयको अनुमतिमा छापिएको उनीहरूको आरोप छ ।
मोदीले दक्षिण एसियाका मुलुकहरूमध्ये माल्दिभ्सको मात्र भ्रमण गर्न बाँकी छ । त्यहाँ रहेका भारतीय अधिकारीहरू पत्रिकाले यसरी मोदीलाई गरेको आक्रमणबाट स्तब्ध भएका छन् तर उनीहरूले कुनै टिप्पणी भने गरेका छैनन् ।
भारतले अघिल्लो हप्ता मात्र मालेलाई इन्डिया फर्स्ट नीतिका बारेमा सम्झना दिलाएको थियो । विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले माल्दिभ्स भारतको चिन्ताप्रति संवेदनशील हुने आशा राखेको बताए ।
मालेले चीनसँग सम्झौता गरेपछि भारत झस्किएको हो । मालेमा रहेका भारतीय राजदूत अखिलेश मिश्रसँग अनधिकारिक भेटघाट गरेको भनी सरकारले तीन पार्षदहरूलाई बर्खास्त समेत गरेको थियो ।
एजेन्सी