१० असार २०८३, बुधबार

कस्तो छ भारतमै बनेको पहिलो निजी रकेट ‘विक्रम–आई’ ? यस्ता छन् विशेषता

मंसिर १४, २०८२
काठमाडौं
कस्तो छ भारतमै बनेको पहिलो निजी रकेट ‘विक्रम–आई’ ? यस्ता छन् विशेषता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार हैदरावादस्थित स्काईरूट एरोस्पेसको ‘इनफिनिटी क्याम्पस’ उद्घाटन गर्दै भारतको पहिलो निजी क्षेत्रद्वारा विकास गरिएको कक्षीय प्रक्षेपण यान ‘विक्रम–आई’ सार्वजनिक गरेका छन्।

२०० हजार वर्गफुटमा फैलिएको यस अत्याधुनिक केन्द्रमा बहुविध प्रक्षेपण यानको विकास, एकीकरण र परीक्षण गरिनेछ। कम्पनीले प्रत्येक महिना एउटा कक्षीय रकेट उत्पादन गर्ने क्षमता रहेको जनाएको छ।

कार्यक्रमलाई भर्चुअली सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पछिल्ला दशकमा भारतको अन्तरिक्ष यात्रालाई सफलतापूर्वक अघि बढाएकोमा इस्रोको भूमिकाको प्रशंसा गरे। उनले भारतीय युवामा देखिएको नवप्रवर्तन, जोखिम लिन सक्ने क्षमता र उद्यमशीलता नयाँ उचाइमा पुगेको उल्लेख गर्दै निजी क्षेत्र तीव्र गतिमा अघि बढिरहेको अन्तरिक्ष क्षेत्रमा अभूतपूर्व अवसर देखिएको बताए।

विक्रम–आई के हो?

विक्रम–आई करिब ३०० किलोग्राम पेलोडलाई लो अर्थ अर्बिट (लियो) मा पुर्‍याउन सक्ने आधुनिक प्रविधियुक्त कक्षीय प्रक्षेपण यान हो। पूर्णरूपमा कार्बन फायबरबाट बनेको यसको संरचना यस श्रेणीका अन्य रकेटभन्दा फरक र उन्नत मानिन्छ।

विक्रम श्रृंखलाको नाम भारतीय अन्तरिक्ष कार्यक्रमका संस्थापक डा. विक्रम साराभाइको सम्मानमा राखिएको हो। यो शृंखला साना उपग्रहका लागि धेरै कक्षामा प्रक्षेपण गर्ने बजार लक्षित गरी विकास भइरहेको छ। भारतसँगै विदेशी ग्राहकका लागि पनि बहुकक्ष प्रवेश तथा अन्तरग्रही मिशन क्षमता रहेको बताइन्छ।

विक्रम–आई को मुख्य विशेषतामध्ये एक भनेको एउटै यात्रामा धेरै उपग्रह कक्षामा स्थापित गर्ने क्षमता हो। यो क्षमता भारतको निजी अन्तरिक्ष क्षेत्रमा पहिलोपटक देखिएको हो, जसले भारतलाई विश्वका अगुवा देशहरूको सूचीमा उभ्याउन मद्दत गर्नेछ।

कम्पनीका अनुसार यो रकेट कुनै पनि प्रक्षेपण केन्द्रबाट २४ घन्टाभित्रै संयोजन गरी प्रक्षेपण गर्न सकिन्छ।

स्काईरूटको ‘इनफिनिटी क्याम्पस’ भारतको नयाँ सोच र युवाशक्तिको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ, जसले साना उपग्रह प्रक्षेपणको विश्व बजारमा भारतलाई भावी नेताका रूपमा स्थापित गर्ने लक्ष्य राख्छ।

पूर्व इस्रो वैज्ञानिक तथा आईआईटीका स्नातक पवन चन्दना र भरत ढाकाले स्थापना गरेको स्काईरूटले २०२२ मा भारतकै पहिलो निजी उप–कक्षीय रकेट ‘विक्रम–एस’ सफलतापूर्वक प्रक्षेपण गरेर इतिहास कायम गरेको थियो।

कार्यक्रममा २०२३ पछि अन्तरिक्ष क्षेत्र उदार बनाउने नीति सुधारहरूले प्रक्षेपण, उपग्रह तथा एनालिटिक्स क्षेत्रमा नयाँ स्टार्टअपहरू जन्माइरहेको उल्लेख गरिएको थियो । २०३० सम्म साना उपग्रह बजार ७७ अर्ब डलरसम्म पुग्ने अनुमान भइरहेका बेला विक्रम–आई ले भारतको भू–आधारित प्रक्षेपण क्षमतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

स्काईरूटले अहिलेसम्म ९५ मिलियन डलरभन्दा बढी लगानी संकलन गरेको छ। कम्पनीले Axiom Space जस्ता साझेदारसँग सहकार्य गर्दै लो–अर्थ अर्बिट पहुँच विस्तार गरिरहेको छ।

salt training

कमेन्ट गर्नुहोस्