
झापा, ७ पुस– कनकाई नदीमा तटबन्ध निर्माण कार्य शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
वर्षेनी कनकाई नदीको कटान र डुबानका समस्याले आजित बनेका स्थानीयवासी तटबन्ध निर्माण शुरु भएपछि हर्षित भएका हुन् । शिवसतासी–७ स्थित चन्द्रडाँगी पूर्व र ५ को भेलामुनीमा रु पाँच करोडको लागतमा तटबन्धको काम भइरहेको इञ्जिनियर दुर्गाप्रसाद शर्माले जानकारी दिए ।
‘बढी जोखिमपूर्ण र प्रभावित स्थानको पहिचान गरी तटबन्धको काम भइरहेको छ,’ उनले भने ।
शिवसताक्षी–४ का सिकिन पासवानले तटबन्धले स्थानीयवासीमा आशा जगाएको बताए । ‘धेरैजना कनकाई नदीको कटानले सुकुम्बासी हुनुभएको छ,’ उनले भने, ‘वर्षा शुरु भएसँगै त्रास छाउँछ ।’
अर्का स्थानीय विरेन राजवंशी तटबन्ध शुरु भएपछि बाढीको जोखिम कम हुनेमा विश्वस्त रहेको बताए । ‘हरेक वर्ष दुःखका साथ बर्खायाम बिताउने गरेका छौँ,’ उनले भने, ‘तटबन्ध निर्माण शुरु भएसँगै स्थानीयवासीमा आश जागेको छ ।’
शिवसताक्षी नगरपालिकास्थित लालपानीका मानबहादुर थापाले कनकाई नदीको कटानकै कारण आफू सुकुम्बासी भएको बताउँदै तटबन्ध विश्वासिलो र भरपर्दो हुनुपर्नेमा जोड दिए । नदीको दुवै किनारमा तटबन्ध गरिएमात्र प्रभावकारी हुने उनको सुझाव छ ।
‘नदीको दुवैतिर नियन्त्रणको काम हुनुपर्छ,’ उनले भने, ‘नत्र एकातिरको समस्या अर्कोतिर सर्छ ।’ कनकाई नदीकै कारण सयौँ परिवार विस्थापित भएको पनि उनले सुनाए ।
कनकाईले वर्षेनी कैयौँ बिगाहा जमिन कटान गर्ने गरेको छ भने सयौँ घर डुबान र बाढीले बगाउँदा मानवीय क्षतिसमेत हुने गरेको छ । जनताको तटबन्धले यो वर्ष बाँचिएला भन्ने आशा जागेको स्थानीयवासी बताउँछन् ।