
नयाँ दिल्ली | १५ वर्षीया किशोरीले गीत गाएपछि उनले कस्तो लाग्यो भनेर १६ वर्षीय किशोरलाई सोधेकी थिइन्। त्यसको जवाफमा ती किशोरले उनलाई अंगालो मारेर प्रस्तुति निकै राम्रो भएको भन्दै बधाइ दिए।
केरलाको सेन्ट टोमस सेन्ट्रल स्कुलमा भएको प्रतियोगितामा किशोरीले किशोरलाई यस्तो सोधेकी थिइन्। जवाफमा किशोरले उनलाई अंगालो मारेर प्रस्तुति निकै राम्रो भनेका हुन् | तर त्यही बहानामा किशोर निष्काशनमा परे |
आफ्नो तस्वीर खिच्न नचाहेकी ती किशोरीले बोल्दै भनिन्, "हामीले १/२ सेकेन्डका लागि मात्रै अंगालो मारेका थियौं।"
"त्यहाँ वरिपरि धेरै विद्यार्थी र शिक्षकहरु थिए र मलाई केही गल्ती भयो जस्तो महसुस पनि भएन।" तर एकजना शिक्षकले त्यसबारे प्रधानाध्यापकलाई उजुरी गरे । किशोरीको भनाईमा सबै विवाद त्यहीँबाट शुरु भयो।
त्यसको अर्को दिन जुलाई २२ तारिखमा ती दुई जना नै अनिश्चित समयका लागि विद्यालयबाट निलम्बनमा परे। त्यसको चार महिनापछि गत नोभेम्बर २२ तारिखमा ती किशोरलाई विद्यालयबाट निष्कासित गरियो।
तर दुवैको नाम सञ्चारमाध्यममा आएका छैनन्।
विद्यालयका प्रधानाध्यापक सेबास्टियन टि जोसेफले भने, "विद्यालय भनेको बालबालिका सुधार गर्ने ठाउँ पनि हो। "हामीले ती किशोरलाई क्षमा माग्ने मौका दिएका थियौं तर उनी र उनको बुवाआमामा कुनै पश्चाताप देखिएन।"
ती किशोरले भने आफूले तत्कालै माफी मागेको बताएका छन्। किशोरी भने फेरि विद्यालयमा आइनन् किनभने विद्यालयको रेकर्ड अनुसार उनी त्यहाँ पुन: भर्ना हुन आएको देखिँदैन।
उनी विद्यालयमा प्रतियोगिता भएको जुन महिनामा भर्खरै दुबाईबाट आएर भर्ना भएकी थिइन्। उनको भर्नासम्बन्धी कागजातहरु अंगालो मारेको उक्त घटना हुँदासम्म अझै अपुरो रहेको थियो।
-बीबीसीबाट